संजय रेग्मी
असोज १७, २०७४

पर्वत : अमेरिका सरकारले सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आजदेखि आवेदन दर्ता गर्न सकिने जनाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको हो । अन्तिम पटक भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुलेको हो । नेपाल स्थित अमेरिकी दूतावासले एक विज्ञप्ति प्रकाशित गरी असोज १७ गते मंगलवार राती ९ः ४५ बजेदेखि आवेदन भर्न सकिने जनाएको छ । दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ । करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिन समेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ । डि.भी. भर्दा आवेदक वा आवेदकका आफ्ना पति÷पत्नीका २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने छ । यस्तै, अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन । आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नुपर्नेछ किनकी स्टेटस चेक गर्ने एक मात्र तरिका कन्फर्मेसन नम्बर हो । डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जानुपर्नेछ । सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले भरेको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्नेछन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनीति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यस सम्बन्धि विधेयक पारित गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारित भएमा डिभी बन्द हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here