संजय रेग्मी
असोज १७, २०७४

पर्वत : दशैंको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका बिभिन्न २ सय ५६ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कारबाही गरेको छ । चाडपर्वलाई लक्षित गरी सवारी चेकजाँचमा बिशेष अभियान चलाएको ट्राफिक प्रहरीले घटस्थापनाको दिन यता उक्त संख्याका सवारी साधनमाथि कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनले भने, “चाडपर्वका बेलामा यात्रुहरुको चाप संगै मालसामान ढुवानी पनि बढ्ने गरेका कारण यस अबधिमा बढी दुर्घटनाको जोखिम हुने गरेको छ । यसैलाई ध्यानमा राखेर हामीले घटस्थापनादेखि सवारी साधनमा विशेष निगरानी गरिरहेका छौँ ।” कार्यालय प्रमुख रानाभाटका अनुसार सबैभन्दा बढी सवारीका कागजात साथमा नभएका १३३, क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने ९३, चालक अनुमति पत्र (लाईसेन्स) नभएका १८, यान्त्रिक अवस्था ठीक नभएका ६, दसैँको मौका छोपी डबल भाडा लिने ३ ओटा बस र १ ट्याक्सी गरी ४ तथा मादक पदार्थ सेवन गर्ने २ जनामाथि कारबाही भएको छ । कारबाहीमा परेका सवारी साधनहरुबाट १ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने २ जनामाथि भने सार्वजनिक मुद्धा दायर गरिएको पनि रानाभाटले जानकारी दिए । यस्तै, चाडपर्वको सिजनमा ग्रामिण क्षेत्रमा चल्ने सवारीले लापरबाही गर्ने गरेको गुनासोका माझ पर्वत ट्राफिकले ग्रामिण क्षेत्रमा छिर्ने सडक नाकाहरुमा पनि चेकजाँचलाई तिब्र पारेको छ । यसैबीच, दशैं लगत्तै मुस्ताङ घुम्न जाने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेकजाँचमा थप कडाई गरेको छ । चाडबाडका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि सडक दुर्घटनाको जोखिम बढेकोले पर्वत ट्राफिकले नियमित चेकजाँचलाई अझै बलियो पारेको हो । मुस्ताङ जाने सवारीहरुलाई पर्वत ट्राफिकले बाटैमा रोकेर पर्वत–मुस्ताङ सडक खण्डमा रहेका चुनौती र समस्याबारे जानकारी गराउँदै सुरक्षित ड्राईभिङ र आवातजावतका लागि छोटो प्रशिक्षण दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here