फाईल फोटो 

सर्लाही, असोज १७ । सर्लाहीमा लखन्देही खोलाले बगाएर ६ जना बेपत्ता भएका छन् ।

सोमबार साँझ खोलामा आएको बाढीले उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बेपत्ता हुनेमा पत्थरकोटकी राधिका ढुंगाना उनका ७ वर्षीय छोरा किस्मत, ५ वर्षीया छोरी क्रितिका र एक वर्षीय छोरा क्रिति छन् ।

यस्तै जुटपानीकी ५५ वर्षीया भिममाया काफ्ले र पिडारीका ६० वर्षीय रामदेव साह कलवार छन् ।

मृतक चार जना आमा–बच्चा भने दशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा खोला तर्ने क्रममा बाढीमा परी डुबेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँ ले जानकारी दिए ।

अरु दुई जना भने भैंसी चराएर फर्किदै गर्दा खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता सबै जनाको खोजी भैरहेको छ ।