१७ असोज काठमाडौं : प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ । दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् ।

तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ । यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले  जानकारी दिए ।

पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन् । त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र वामदेव गौतम अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन् । आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो ।

 

एमाले सचिव योगेश भट्टराईले पनि प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरी पार्टी एकतासम्मै जाने गरी छलफल चलेको बताए । ‘अहिलेको समयको माग धु्रवीकरणको हो । एउटा कम्युनिस्ट र अर्काे पुँजीवादीहरूबीच धु्रव्रकरण हुनुपर्छ । त्यसैका लागि हाम्रो प्रयास हो’, सचिव भट्टराईले भने, ‘पहिले आगामी निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरेर बढी वामपन्थी शक्तिलाई जिताउने र त्यसपछि पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाउने भन्ने हो।’

संविधान निर्माणपछि एमाले र माओवादी दुवैले समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा अगाडि सारेका छन् । तर, यसको मोडालिटी कस्तो हुने भन्नेमा भने छलफल बाँकी नै छ । अहिले सत्तालाई केन्द्रित गर्ने र सरकारमा आफ्नो नियन्त्रण कायम राख्ने गरी वामपन्थीहरूको एउटै केन्द्र निर्माण गर्न दुवै पक्ष तयार भएपछि पार्टी एकताको पहल भएको हो ।

यी दुई पार्टीका बीचमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारकै बेला पनि पार्टी एकतासम्मकै छलफल चलेको थियो । तर, त्यस बेलाको भद्र सहमति तोडिएपछि माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएको थियो । त्यसयता पनि पार्टी एकताको छलफल भने चलेको नेताहरूले बताएका छन् । दुवै पार्टीले एउटा देशमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने निर्णय यसअघि नै गरेका थिए । माओवादीले २०६४ सालमै यो विषयमा निर्णय लिएको थियो । मंगलबारको छलफल निष्कर्षमा पुगे दुवै पार्टी अध्यक्षले संयुक्त वक्तव्य दिने तयारी छ ।

यी हुन् समझदारी
– बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध)लाई बहसमा लैजाने ।
– आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।
– आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट (अलग-अलग) गरेर जाने ।
– पार्टीको नाम फेर्ने ।
– एकता संयोजन समिति गठन गर्ने ।
– सूर्य चुनाव चिह्न लिएर लड्ने, यसलाई माओवादीले ठूलो विषय नबनाउने
– समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here