१२ असोज तेह्रथुममा दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेद्वार चयन थालेका छन् । कांग्रेस र माओवादी केन्द्रले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारहरुको नाम चयन गरी सिफारिस गरेका हुन् । एमालेलगायत दलहरुले समेत आन्तरिक तयारी थालेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार चयन गरेका छन् । कांग्रेसले केन्द्रीय सदस्य तथा युवा नेतृ सीता गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ जिल्लाबाट दुई पटक समानुपातिकतर्फ सांसद हुँदै हाल नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री छिन् ।

संघको निर्वाचनमा समानुपातिक तर्फ कांग्रेसले पुर्वसभासद तुलसी सुब्बा, सांसद गणेश विमली, पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भटराई र राज्यप्रसाद लिम्बुको नाम सिफारिस गरेको छ । यस्तै कांग्रेसले प्रादेशिक निर्वाचनमा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । ढुंगाना हाल जिल्ला सभापति छन् ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपिन सुब्बा, टेकराज तिगेला लगायत दर्जन बढी नेताहरुको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ नारायणकुमार ईङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ । ईङनाम कांग्रेस जिल्ला समिति पुर्वसदस्य तथा आठराई गाउँपालिकाका अध्यक्षका प्रत्यासी थिए । गुरुङ नेविसंघका पुर्वजिल्ला अध्यक्ष हुन् भने थाम्देन किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष हुन् ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना वर्देवा लगायतको नाम जिल्लाबाट सिफारिस भएको छ । स्थानीय चुनावमा जिल्लाका छ मध्ये पाँच स्थानीय तहमा हार बेहोरेको कांग्रेसले संघ र प्रदेशको निर्वाचनमा भने जित निकाल्ने दाबी सहित बलियो उम्मेद्वारी दिएको नेताहरुले दाबी गरेका छन् ।

यता माओवादी केन्द्रले भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । सम्बाहाम्फे निजी तथा संस्थागत विद्यालय संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष छन् । समानुपातिकतर्फ केन्द्रीय पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई र पुर्वविधायेक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ । प्रदेश तर्फ क्षेत्र नंं. १ मा इन्द्रबहादुर ईम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । ईम्सङ हाल जिल्ला संयोजक रहेका छन् भने सेने जिल्ला सहसंयोजक छन् ।

समानुपातिकतर्फ दिलकुमारी लिम्बु र तेजेन्द्र कुरुम्बाङ चयन भएका छन् । यस्ते क्षेत्र नंं. २ मा प्रत्यक्ष तर्फ पोलिट व्युरो सदस्य शुशिला कन्दङवा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङवा र जिल्ला सहसंयोजक ताराप्रसाद भटराईको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ तेजमान कन्दङवा, बलिराज ईङनाम र चुडामणी बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

एमाले सहितका दलहरुले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ । दशैँ लगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए ।

प्रदेशको निर्वाचनमा क्षेत्र नं. १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्दछन् । क्षेत्र नं. २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्दछन् । यसअघि संविधान सभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ०७० मा नेकपा एमाले र ०६४ मा नेपाली कांग्रेसले जितेका थिए ।

०१५ सालपछि जिल्लामा कांग्रेसले ०६४ मा पहिलो पटक चुनाव जितेको थियो । तर यसपटक संघ र प्रदेश दुवै निर्वाचनमा विजयी हुने कांग्रेसले दाबी गरेको छ । क्षेत्र बाँडिएकाले प्रदेशको निर्वाचनमा उच्च प्रतिष्पर्धा हुने निश्चित छ । संघको निर्वाचनमा पनि जिल्लामा कांग्रेस र एमालेकै बीचमा प्रतिष्पर्धा हुने देखिन्छ ।

यसअघि दुई वटै संविधान सभाको निर्वाचनमा तेस्रो स्थानमा देखिएको माओवादी केन्द्रले गएको स्थानीय चुनावमा थोरै स्थानमा मात्रै जमानत जोगाउन सक्यो । यद्यपि यसपटक भने प्रदेश र संघको निर्वाचनमा माओवादीले केन्द्रले पनि बलियो उम्मेदवारी दिएको बताएको छ । संगठन सुदृढिकरणमा समेत माओवादी नेताहरु खटिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here