११ असोज काठमाडौं : स्थानीय तहको तेस्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशको निर्वाचनमा शीर्ष नेताले आफ्ना वडा र नगर जोगाउन नसकेको अवस्थामा कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो गृहनगर नगराइन नगरपालिका जोगाउन सफल भएका छन् ।

केही समययता विभिन्न समाचारमा निधिले मतदान गरेको नगराइन नगरपालिका-२ मा एमाले विजय भएको खबर सार्वजनिक भएको थियो । तर, निर्वाचन कार्यालय धनुषाले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निधिको गृहनगर नगराइन नगरपालिकाको मेयर र उपमेयर समेतमा कांग्रेस नै निर्वाचित भएको छ । त्यहाँ एमालेले कांग्रेस उम्मेदवारलाई कडा टक्कर दिएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा समेत निधि एमालेकै जुली महासेठसँग झिनो मतान्तरले विजय भएका थिए । यद्यपि, स्थानीय निर्वाचनमा निधिले जनकपुर उपमहानगरलाई कांग्रेसको पोल्टामा पार्न सकेनन्।

जनकपुर उपमहानगरमा कांग्रेसलाई ठूलो मतान्तरले राष्ट्रिय जनता पार्टी नेपाल, (राजपा) विजयी भएको छ ।दुई नम्बर प्रदेशमा असोज २ मा भएको निर्वाचनमा एमाले नेता माधव नेपाल, राजपा नेता अनिल झालगायत शीर्ष नेताले मतदान गरेको ठाउँमा उनीहरू सम्बद्ध पार्टीले पराजय भोग्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here