९ असोज काठमाडौं : कुराँस खेलमा सहभागिता जनाउन तुर्कमिनिस्तान पुगेका दीपक छन्त्याल खेल सुरु हुनुभन्दा ठीकअघि शौचालय गएपछि प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भए । पुरुषतर्फको ९० केजी तौलसमूहमा सहभागिता जनाउन अस्गवात पुगेका दीपकलाई रेफ्रीले पटकपटक बोलाउँदा पनि उनी रिङमा उपस्थित नभएपछि रेफ्रीले विपक्षीलाई विजयी घोषित गरिदिए ।

दीपक खेल्ने समयमा शौचालय गएका थिए तर शौचालयबाट फर्कंदा उनको खेल्ने समय सकिइसकेको थियो । उनी शौचालयबाट फर्कंदासम्म रेफ्रीले उनका प्रतिद्वन्द्वीलाई विजयी घोषित गरिसकेका थिए । पछि रिङमा पुगेर आग्रह गर्दा पनि समयमा नआएको कारण देखाउँदै निर्णायकले उल्टै खेलको नियम सम्झाएर फर्काइदिए ।

यस्तै घटना बुद्धिचाल खेलमा पनि देखियो । नेपालका मदनकृष्ण कायस्थ र मोनालिसा खम्बू खेल सुरु हुनुभन्दा ४० मिनेटपछि मात्र खेलस्थलमा पुगे । निर्धारित समयमा खेलस्थलमा नपुगेपछि नियमअनुसार उनीहरूले आफ्ना विपक्षीलाई वाकओभर दिनु परेको थियो । बिहान ९:०० बजे खेलमा पुग्नुपर्नेमा मदनकृष्ण र मोनालिसा ९:४० बेजमात्र खेल स्थल पुगेका थिए ।

त्यसअघि मुवाथाई खेलमा पनि नेपाली खेलाडीले यस्तै नियति भोग्नुपर्‍यो । मुवाथाईको ६७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न अस्गवात पुगेका नवराज गुरुङ रिङमा नउत्रँदा उनका विपक्षीले वाकओभर पाएका थिए । रेफ्रीले पटकपटक बोलाउँदा पनि नवराज रिङमा नआएपछि रेफ्रीले मकाउका लेइका लोनलाई वाक ओभर दिएका थिए । रिङमा ओर्लनुपर्ने समयमा नवराज खेलस्थल नजिकैको हलमा अभ्यास गरिरहेका थिए ।

खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने आशमा सरकारले ठूलो धनराशि खर्च गरेर आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको हुन्छ । तर, तुर्कमिनिस्तानको अस्गवातमा जारी ‘पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्स’मा नेपाली खेलाडी र खेल पदाधिकारीको यस्ता चर्तिकलाले समग्र राष्ट्रकै प्रतिष्ठामा आघात पुर्‍याएको छ ।

‘यो सम्बन्धित खेल पदाधिकारीहरूको चरम लापरबाही हो । यस्ता घटनाले राष्ट्रको प्रतिष्ठामै आघात पुर्‍याउने काम गर्छ’, खेलकुदविज्ञ दिवाकरलाल अमात्य भन्छन्, ‘एउटै प्रतियोगितामा पटकपटक एउटै प्रकृतिका घटना दोहोरिनुले पदाधिकारीहरू आफ्नो जिम्मेवारीप्रति संवेदनशील नरहेको सन्देश दिन्छ ।’ उनी यस्ता घटनाको विषयमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् ।

राखेपका सदस्यसचिव केशवकुमार विष्ट भने नेपाल ओलम्पिक कमिटी (एनओसी) र सम्बन्धित खेल संघ गम्भीर नभएकाले अस्गवातमा राष्ट्रले लज्जाबोध गर्नुपर्ने अवस्था उत्पन्न भएको दाबी गर्छन् । यद्यपि सदस्यसचिव विष्ट आफैं पनि नेपाली टोलीको ‘सेभ अफ दी मिसन’का रूपमा अस्गवाद गएका थिए । प्रतियोगितामा खेलाडी पठाउने विषयमै अन्योल भएको पनि उनको कथन छ ।

‘सबै कुरा सेभ अफ दी मिसनले हेर्ने होइन, मेरो पनि आफ्नो सीमा हुन्छ । मभन्दा तल पनि तीनवटा तह हुन्छन् । ओलम्पिक कमिटी र सम्बन्धित संघ पनि गम्भीर देखिएनन् । खेलाडी आफैं पनि सिन्सियर भएनन्’, विष्ट भन्छन् । मुवाथाईका खेलाडी आफ्ना प्रतिद्वन्द्वीको खेलबाट डराएर रिङमा नओर्लिएको जानकारी आफूलाई प्राप्त भएको दाबी पनि विष्टले गरे ।

अझ रमाइलो पक्ष त राष्ट्रको प्रतिनिधित्व गर्दै अस्गवात पुगेका मुवाथाईका खेलाडी नवराज कसरी प्रतियोगितामा सहभागी भए भन्ने विषयमै सदस्यसचिव विष्टले अनभिज्ञता व्यक्त गरेका छन् । ‘नवराज हामी (राखेप)ले पठाएको खेलाडी होइन, ऊ कसरी प्रतियोगितामा सहभागी भयो भन्ने विषयमा मलाई कुनै जानकारी छैन’, विष्ट भन्छन् । प्रतियोगितामा सहभागी नेपाली टोलीको ‘टोली नेता’ले नै आफ्ना खेलाडीको विषयमा जानकारी नरहेको दाबी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सदस्यसचिव विष्टले राखेपबाट बुद्धिचाल, पौडी, तेक्वान्दो र भारोत्तोलनमा मात्र खेलाडी पठाएको बताए । जब कि प्रतियोगितामा नेपालबाट आठ खेलका १८ खेलाडीसहित २७ जनाले सहभागिता जनाएका छन् । ‘राखेपले चार खेलमा मात्र खेलाडी पठाएको हो, अरू खेलका खेलाडी कसरी प्रतियोगितामा सहभागी भए मलाई थाहा भएन’, विष्टले अन्नपूर्ण पोस्ट्सँग भने । पुरुष थ्री बाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलका खेलाडीको विषयमा उनले अनभिज्ञता व्यक्त गरेका हुन् ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिष्ठासँग खेलवाड गर्ने छुट कसैलाई नभएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउन राज्यले ठूलो लगानी गरेको छ । यो राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय पनि हो । अस्गवात लैजान कसरी खेलाडी छानियो र खेलाडीहरू कसरी खेलमा अनुपस्थित भए भन्ने विषयमा राखेपसँग लिखित जानकारी मागिनेछ र आवश्यक छानबिन गरी दोषीमाथि कारबाही पनि हुनेछ’, मन्त्री केसीले भने ।

खेलाडीहरूले खेल छाड्नुअघि प्रतियोगिताको उद्घाटन समारोहमै पनि राष्ट्रिय झन्डा बोक्ने विषयमा अन्योल उत्पन्न भएको थियो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीले प्रतियोगिताको उद्घाटन समारोहका क्रममा मार्च पास्ट्मा तेक्वान्दो खेलाडी नीमा गुरुङले राष्ट्रको झन्डा बोक्ने जानकारी दिएको थियो ।

तर, उद्घाटन समारोहमा भने अर्का तेक्वान्दो खेलाडी वीरबहादुर महराले नेपालको झन्डा बोकेका थिए । उद्घाटन समारोहपछि नीमाको जहाज ढिला भएकाले वीरबहादुरलाई झन्डा बोक्न दिइएको स्पष्टीकरण दिइएको थियो । पदाधिकारीहरू भने प्रतियोगिता सुरु हुनुअघि नै अस्गवात पुग्ने तर खेलाडी भने उद्घाटन समारोहमा समेत पुग्न नसक्ने गरी मिलाइएको यातायात व्यवस्थापनको विषयलाई लिएर समेत विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

‘देशबाहिर आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई हाम्रा खेल पदाधिकारीहरू विदेश भ्रमण गर्ने अवसरका रूपमा लिन्छन् । खेलाडी छनोटमा समेत क्षमतावान्भन्दा आफूनजिककालाई प्राथमिकतामा पारिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा बारम्बार भइरहने यस्ता घटना त्यसैको प्रतिफल हो’, आफ्नो नाम नछाप्ने सर्तमा एक प्रशिक्षक गुनासो गर्छन् । उनका अनुसार नेपालमा भर्खरैमात्र भित्रिएको कुराँसजस्तो नयाँ खेलका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनु पनि पदाधिकारीका आफूनजिकका व्यक्तिलाई विदेश घुमाउने नियतमात्र हो ।अन्नपूर्ण पोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here