पर्वत, असोज ६– विगत १८ बर्षदेखि पत्रकारितामा सक्रिय रहदै आएका पर्वतका पत्रकार ओमप्रसाद शर्मा घायल प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४८ औ स्थापना दिवसका अवसरमा उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले नगदसहित सम्मानपत्र प्रदान गरिन् । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष घायल नेपाल प्रेस युनियन पर्वतका संस्थापक, नेपाल लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष हुन ।
उनी रेडियो शालिग्रामको स्टेशन म्यानेजर र मोदीकाली साप्ताहिकको सम्पादक÷प्रकाशक रहेका छन् । बागलुङको पैंयुपाटामा जन्मेका घायलले यसअघि पत्रकार तथा साहित्यसँग सम्बद्ध आधादर्जनबढी पुरस्कार पाइसकेका छन् । उनी पत्रकारितासँगै समसामयिक लेख, कथा, कविता, निबन्ध, गजल लगायतमा कलम चलाउदै आएका छन् ।
यसैगरी प्रेस काउन्सिल नेपालले बागलुङका महिला पत्रकार कोपिला कँडेललाई पनि रु १० हजार राशीको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उता यो बर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार पत्रकार बालकृष्ण चापागाईलाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी नगद एक लाख पाँच हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here