असोज ६, २०७४

पर्वत: हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेपछि तीर्थयात्रीहरु अलपत्र परेका छन । पछिल्लो तीन दिन यता भैरहेको बर्षाको कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित काभ्रेभिरमा गएको पहिरोले उक्त सडकखण्ड पूर्ण रुपमा अबरुद्ध बनेको छ । गएको बुधबार दिउसोदेखि लगातार भैरहेको वर्षाले बाटो भत्काउने र माथिबाट खसेको पहिरोले बाटो परेपछि सोह्र श्राद्धमा दिवंगत भएका आफन्तलाई पिण्ड दानको लागि मुस्ताङको कागबेनी गएका र घुम्नका लागि गएका आन्तरीक तथा बाह्य पर्यटकहरु हजारौंको संख्यामा अलपत्र परेका हुन् । पहिरोका कारण अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामा नै अड्किएका छन् । मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएका छन । वर्षा अझै पनि नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अझै पनि मसिनो बर्षा भैरहेको छ । पानी पूर्ण रुपमा नरोकिएसम्म सडक खुलाउन असम्भव छ । पानी रोकिँदा साथ बाटो खुलाउने भनेर पहिरो गएको स्थानमा डोजर र स्काभेटर पनि पठाईसकिएको छ । बिहीबार दिउसोबाट नै हामीले पहिरो पन्छाउने प्रयास भने गरिरहेका छौँ ।’ वर्षाका कारण चिसो समेत बढेकोले तीर्थयात्रीहरु जाडोले कठ्याङग्रिएको बताइएको छ । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्राबाट भन्दा सडक मार्गबाट मुस्ताङ जानेको आकर्षण बढ्दै गएको छ । पटक–पटक जहाज दुर्घटना हुन थालेपछि तीर्थयात्री तथा पर्यटकहरुले मुस्ताङ जानको लागि सडक मार्ग नै रोज्ने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here