३ असोज काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पहिलो प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले दुईवटा स्थानीय तहमा अग्रता हाँसिल गरेको भने नेकपा एमाले र संघीय समाजजादी फोरमले एक एक स्थानमा अग्रता हाँसिल गरेका छन् । अहिलेसम्म हामीलाई प्राप्त जानकारी अनुसार ४ स्थानीय तहमा मात्रै प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ । धेरै स्थानीय तहले रातीदेखि नै मतगन्न सुरु गरेको भएपनि प्रारम्भिक मतपरिणाम भने आईसकेको छैन ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ४९ मतका साथ अग्र स्थानमा रहेका छन् । सोमबार सम्पन्न मतगणनामा काँग्रेसको पछिपछि राष्ट्रिय जनता पार्टी रहेको छ । उसको ४३ मत आएको छ ।

पहिलो १०० मत गन्दा एमाले–माओवादी निकै पछाडि रहेका छन् । संघीय समाजवादी फोरम र माओवादीको समान ३÷३ मत आएको छ । प्रमुख पदमा एमालेका उम्मेदवारको मात्रै १ मत आएको छ । त्यस्तै, उपप्रमुख तर्फ काँग्रेसको ४९ मत, राजपाको ४१ मत, माओवादीको ३ मत र फोरमको ३ मत आएको छ । एमालेको उपप्रमुखमा मत छैन ।

सप्तरीको सप्तकोशी नगरपालिकाको पहिलो २ सय मत गन्दा एमालेले ९१ मतका साथ पहिलो स्थान हाँसिल गर्न सफल भएको हो । प्रमुखतर्फ दोस्रो हुनेमा माओवादीका उम्मेदवार छन् उनले ४६ मत प्राप्त गरेका छन् । संविधानसभाको पहिलो पार्टी नेपाली काँग्रेस यो नगरपालिकामा भने चौथो भएको छ । काँग्रेसका उम्मेदवारले जम्मा २१ मत ल्याएका छन् । बरु मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवारले २४ मत ल्याएका छन् । यसरी यो नगरपालिकाको प्रारम्भिक नतिजामा काँग्रेस चौथो भएको हो ।

त्यस्तै उपप्रमुखतर्फ पनि एमालेले नै अग्रता हाँसिल गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारले कूल १६ मत ल्याउँदा एमालेका उम्मेदवारले ९० मत ल्याएका छन् । माओवादीका उम्मेदवारले ४१ र फोरम लोकतान्त्रिकका उम्मेदवारको २१ मत ल्याएका छन् ।

त्यस्तै, धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । पहिलो २ सय मत गन्दा नेपाली काँग्रेस ५५ मतका साथ पहिलो स्थान हाँसिल गरेको हो । उपप्रमुखमा भने ५६ मतका साथ माओवादी केन्द्रकी उम्मेदवारको अग्रता छ । काँग्रेसको उपप्रमुखमा ५२ मत आएको छ ।

त्यस्तै संघीय समाजवादी फोरमले ४४ मत ल्याएको छ । उसले उपप्रमुखमा भने ३४ मत मात्रै ल्याएको छ । उता एमाले भने यो स्थानीय तहमा चौथो बन्न पुगेको छ । एमालेले प्रमुखमा १९ र उपप्रमुखमा २३ मत ल्याएको छ । प्रारम्भिक मत परिणाममा एमालेका उम्मेदवार चौथो स्थानमा आउनुपरेको हो ।

त्यस्तै, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले अग्रता हाँसिल गरेको छ । सोमबार भएको निर्वाचनमा मध्यरातदेखि मतगणना सुरु भएको थियो । विहान ३ बजेको पछिल्लो तथ्यांक अनुसार कूल ६१ मत गनेर सकिएको छ । जसमा सबैभन्दा धेरै ल्याउने फोरमले प्रमुख र उपप्रमुख दुबै पदमा समान २६÷२६ मत ल्याएको छ । त्यस्तै, काँग्रेसको समान १३÷१३ मत र माओवादीको पनि समान १२÷१२ मत आएको छ । तर एमालेको भने अध्यक्षमा ९ र उपाध्यक्षमा १० मत आएको छ । एमालेले अध्यक्षमा पाएको ९ मत फोरमको २६ भन्दा करिब ३ गुणा कम हो ।