फाईल फोटो

आश्विन २ रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई अज्ञात व्यक्तिले सोमबार उनको कार्यकक्षमा कालो छर्केर फरार भएको छ ।

 आफ्नो कार्यकक्षमा एक्लै बसिरहेको बेलामा एउटा फाइल लिएर पुगेको अपरिचित व्यक्तिले पन्तलाई फाइल पढ्न दिएर कालो छर्केको थियो । कालो छर्केपछि उनको कोठाबाट बाहिरिएको उक्त व्यक्ति जिल्ला समन्वय समितिको पश्चिम तर्फ हुँदै भागेको थिए ।

पन्तलाई दिइएको फाइलको बाहिर सिपिएन माओष्ट लेखिएको छ । भित्र केही भनाइहरु रहेको पन्तले बताए । फाइल हेर्न लागेको बेला कालो खन्याएर भाग्न लाग्दा पन्त समात समात भनेर चिच्याउँदै बाहिरी ढोकासम्म पुगेका थिए । तर कालो छर्केने व्यक्तिलाई उनले भेटन सकेनन् । कार्यालयका अन्य कर्मचारीले भाग्दै गरेको व्यक्तिलाई देखेको भएपनि नीजले पन्त माथि गरेको दुर्व्यवहार थाहा पाएनन् ।

घटनापछि अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न पन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

अपरान्ह जिल्ला समन्वय समितिमा पत्रकार बोलाएर उनले करिव २ वर्षसम्म जिल्लामा रहेर काम गर्दा कतै विवादमा नआएको निर्दोष व्यक्ति माथि भएको उक्त घटना निन्दनीय भएको बताए । ‘मलाई कहिँ कतैबाट कुनै पनि विषयमा माग भएको, विवाद उत्पन्न भएको या भनाभन भएको घटना केहि भएको छैन,’ पन्तले भने, ‘केही कुरै थाहा नभएको कर्मचारी आफ्नो कार्यकक्षमा यस्तो प्रकारको घृणित कार्यको सिकार हुनुपर्दा दुख लागेको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले एउटा राष्ट्रसेवक कर्मचारी माथि भएको उक्त घटनाको जति निन्दा गरेपनि कमै हुने बताए ।

कामै दिएन सीसीक्यामराले 

जिल्ला समन्वय समितिमा सीसी क्यामरा जडान गरिएको भएपनि सोमबारको घटनाको दृष्य हेर्न सकिएको छैन । यसअघि स्थानीय विकास अधिकारीको कार्यकक्षमा रहेको सीसी क्यामेराको नियन्त्रण कक्षमा प्राविधिकहरुले कुनैपनि फुटेजहरु निकाल्न सकेका छैनन् ।

बजारका विभिन्न स्थानमा सीसीक्यामेरा जडान गरिएको भएपनि कालो छर्केर भागेका व्यक्ति पश्चिम तर्फ गएकोले कुनै फुटेज भेटिएन ।

सर्वत्र निन्दा 

पन्त माथि भएको उक्त घटनाको सर्वत्र निन्दा भएको छ । कर्मचारी मिलन केन्द्र, आधिकारीक ट्रेड युनियन कर्मचारी, विभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिले समेत उक्त घटनाको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेका छन् ।ईकान्तिपूर वाट