३१ भाद्र,उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका वेला प्योङयाङले शुक्रबार शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । उसले प्रहार गरेको क्षेप्यास्त्र जापानको होकाइदो टापुमाथिको आकाशमा पुगेर समुद्रमा झरेको थियो । दुई साताअघि प्योङयाङले जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरू लगाएको चार दिनपछि प्योङयाङले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको हो । प्रतिबन्धपछि शुक्रबार पुनः आणविक परीक्षण गर्ने उसले चेतावनी दिएको थियो ।

आणविक परीक्षणमा तीव्रता
अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बार चेतावनी बेवास्ता गर्दै उत्तर कोरियाले आणविक परीक्षणलाई तीव्रता दिएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उत्तर कोरियाले ३ सेप्टेम्बरमा हाइड्रोजन बम परीक्षण गरेको थियो । सो बम द्वितीय विश्वयुद्धमा अमेरिकी सेनाले जापानको हिरोसिमामा प्रहार गरेभन्दा पाँच गुण बढी शक्तिशाली भएको दक्षिण कोरियाले जनाएको थियो ।

मध्यम दूरीको क्षेप्यास्त्र
उत्तर कोरियाले शुक्रबार गरेको साताैँ क्षेप्यास्त्र हो । परीक्षणमा हाइड्रोजन बमका सेलहरू राखिएको अनुमान गरिएको छ । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दूरीमा पुग्न सक्ने क्षमताको रहेको उत्तर कोरियाले दाबी गरेको छ । तर, अमेरिकाले यसलाई मध्यम दूरीको भनेको छ । पछिल्लो क्षेप्यास्त्र अमेरिका र प्रशान्त क्षेत्रका लागि खतरा नभएको अमेरिकाले टिप्पणी गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोे क्षेप्यास्त्र ३७ सय किलोमिटर टाढा र ७७० किलोमिटर उचाइमा पुग्न सक्ने क्षमताको जनाएको छ ।

जापानद्वारा निन्दा
जापानले क्षेप्यास्त्र प्रहारको विरोध गरेको छ । जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै घन्टी बजेको थियो र हकाइदोका बासिन्दालाई सुरक्षित क्षेत्रमा आश्रय लिन सरकारले निर्देशन दिएको थियो । जापानी प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियालाई आणविक परीक्षणको कार्य तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गरेका छन् ।

उत्तरको आणविक होडविरुद्ध विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री अबेले भने, ‘उत्तर कोरियाको यस कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब ऊविरुद्ध एक हुनु जरुरी छ ।’ उत्तर कोरियाले हतियारको होडलाई जारी राखे उसको भविष्य अनिश्चित हुने उनले बताए । ‘आणविक परीक्षण जापानका लागि अस्वीकार्य छ,’ उनले भने ।

संसारभर हलचल
उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । पछिल्लो परीक्षणले संसारभर हलचल ल्याएको छ । उत्तर कोरियाले पछिल्लो परीक्षणले संसारमा हतियारको अंकहार बढेको र विश्व शान्तिमा चुनौती थपिएको विश्लेषण गरिएको छ । विश्व नेताहरूले उत्तर कोरियाली परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि हतियार र शक्तिको दम्भ सुरु भएको टिप्पणी गरेका छन् । क्षेप्यास्त्र परीक्षणको कोरियाली शृंखलालाई रोक्न वार्ताका अतिरिक्त अन्य विकल्प खोज्न ढिला गर्न नहुने सुझाब उनीहरूले दिएका छन् ।

सुरक्षा परिषद्को आकस्मिक बैठक
उत्तर कोरियाको आणविक परीक्षणबारे आवश्यक छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको निन्दा गरेको छ । यसै साता सुरक्षा परिषद्ले उत्तरविरुद्ध कडा प्रतिबन्ध लगाएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो प्रतिबन्धलाई चीन र रसियाले समर्थन जनाएका थिए । प्रतिबन्धको विरोध गर्दै अमेरिकाले कडा मूल्य चुकाउनुपर्ने उत्तर कोरियाले चेतावनी दिएको थियो ।

दक्षिण कोरियामा आकस्मिक बैठक
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबार राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाएको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here