३० भाद्र राष्ट्र संघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उत्तर कोरियाले अमेरिका र जपानलाई कडा चेतावनी दिएको छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उसले जापानलाई समुद्रमा ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाईदिने धम्की दिएको हो । उत्तरद्वारा जारी विज्ञप्तिका अनुसार उत्तरले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित्व सिध्याउने जनाएको हो ।

अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेपनि सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएको कपडाको निर्यात उत्तर कोरियाको आम्दानीको प्रमुख श्रोत हो ।

‘हाम्रो छेउको जापानको अब कुनै अस्तित्व आवश्यक छैन । यसलाई परमाणु बमद्वारा समुद्रमा डुबाइदिनुपर्छ,’ कोरिया एसिया–प्यासिफिक पिस कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै अमेरिकाबारे लेखिएको छ, ‘अमेरिकी मुख्य भू–भागलाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीले यसका निम्ति गरेका तयारीहरुको सकेसम्म प्रयोग गरौं ।’

गतसाता प्योङयाङले हाइड्रोजन बम परीक्षण गरेपछि राष्ट्रसंघ सुुरक्षा परिषदले थप नाकाबन्दी लगाएको हो । सुरक्षा परिषद्बाट मंगलबार उत्तर कोरियाले परमाणु कार्यक्रमका लागि रकम जुटाउन निर्यात गर्ने कपडा तथा तेलको आपूर्ति लक्षित नाकाबन्दी लगाएको थियो । उक्त प्रस्तावहरु सुरक्षा परिषदबाट सर्वसम्मति पारित भएका थिए । प्रतिबन्धको प्रतिक्रिया दिदैं उत्तरले जापान र अमेरिकाविरुद्ध नयाँ धम्की दिएको हो ।

उत्तर कोरियाले आफूविरुद्धका सुरक्षा परिषदका निर्णय ‘सुरक्षा परिषदा देशले पैसामा बिकेर अमेरिकाको आदेश पालना गरेको’ दाबी गरेको छ । जापानले उत्तर कोरियाको पछिल्लो अभिव्यक्ति ‘एकदमै भडाउपूर्ण र आश्चर्यजनक’ रहेको प्रतिक्रिया दिएको छ । जापानी मन्त्रीपरिषदा प्रमुख सचिव योसहिहिदे सुगाले भने, ‘उत्तर कोरियाली चेतावनी दक्षिण–पूर्वी एसियाली क्षेत्रमा जारी तनाव उत्कर्षमा पुर्‍याउने शिवाय केही होईन । यसलाई कुनैपनि हालतमा स्वीकार गर्न सकिंदैन ।’

उत्तरले ‘गद्दार र अमेरिकाको कुकर’ भन्दै दक्षिण कोरियालाई पनि धम्क्याएको छ । बुधबार मात्रै दक्षिण कोरियाले पनि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको ‘शिर छेदन’ गर्ने टोली तयार गरिरहेको बताएको थियो । किमलाई तर्साउन दक्षिणले गरेको प्रचार शैलीलाई जापानले भने आलोचना गरेको थियो ।

अमेरिकी पहलमा पहिले राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत महिना उत्तर कोरिया, रुस र इरान लक्षित नयाँ नाकाबन्दी लागू गरेको थियो । नाकाबन्दीले रुष्ट उत्तर कोरियाले प्रशान्त महासागर स्थित अमेरिकी भूभाग गुआममा आक्रमण गर्ने चेतावनी दिएको थियो । उत्तर कोरिया, साउथ चाइना समुद्र तथा ताइवानसम्म हमला गर्ने क्षमता सहितको सैनिक बेस रहेको गुआममा अमेरिकी सेनाको अखडा हो ।

उत्तर कोरियकाले केही साताअघि जापानी आकाश हुँदै प्रहार गरेको क्षेप्यास्त्र समुद्रमा खसेको थियो । यसलाई उसले अमेरिकाविरुद्धको सैन्य कारवाहीको संज्ञा दिएपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको हो । अमेरिका र उत्तरको द्वन्द्धमा अन्य देशहरुसमेत सामोल भएपछि विवाद विश्वव्यापी बनेको हो । चीन र रुसले वार्तामार्फत नै कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्य गनुपर्ने बताएपनि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका थिए ।

त्यसलगत्तै उत्तर कोरियाले राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको आग्रहको वेवास्ता गर्दै शक्तिशाली क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिईरह्यो । राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाविरुद्ध ९ प्रस्ताव सर्वसम्मत पारित गरिसकेको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेजस्तै उत्तर कोरियाले भने उसको परमाणु कार्यक्रम रोक्नुको साटो वृद्धि गर्दै लगेको छ । ब्रिक्स सम्मेलनमा भाग लिन सेप्टेम्बरको पहिलो साता चिनको सियामेन पुगेका पुटिनले बरु उत्तर कोरियालीले घाँस खाने तर परमाणु कार्यक्रम नत्याग्ने अभिव्यक्ति दिएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here