भदौ २९, २०७४

पर्वत : म्याग्दीको मालिका गाउँपालिका वडा नं. ७ स्थित बिम गाउँका बासिन्दाको बिजुली बाल्ने धोको ७ बर्षमा पूरा भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीबासीको लगानीमा गरिएको विद्युतीकरणको परिक्षण सफल भएपछि बुधबार देखी नियमित विद्युत आपूर्ति गरिएको छ । साविकको बिम गाविसको ६ र ७ नम्बर वडाकोे सबै घरधुरीमा र १, २, ३, ४ र ५ नम्बर वडाको केही भागमा विद्युतीकरण गरिएको हो । पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १ सय ८५ घरधुरी लाभाविन्त भएका छन् । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर सात हजार रुपैयाका दरले १२ लाख ९५ हजार रुपैया संकलन गरेका थिए । प्राधिकरणले मुख्य प्रशारण लाईनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाईनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाईरीङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ । तत्कालिन विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रका प्रमुख शिव नेपाल रहेको बेलामा सुरु गरिएको पोल गाड्ने प्रयास विरोध र अवरोधका कारण अलपत्र परेको थियो । यस्तै, छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा पनि केन्द्रिय विद्युतीकरणको काम भइरहेको छ । धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङबासी अझैपनि लघु जलविद्युत, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here