संजय रेग्मी/भदौ २७, २०७४

पर्वत : पर्यटकहरुलाई मध्यनजर गरी कालीगण्डकी नदीमाथि बन्जीजम्पीङ निर्माण भैरहेको बेला पर्वतकै दुर्लुङमा अर्को साहसिक खेल पानीको छहराबाट झर्ने (क्यानोनिङ) शुरु भएको छ । स्वदेशी र विदेशी पर्यटकहरुको लागि झरनाबाट झर्ने छाँगावरोहण खेल पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गस्थित महभिर झरनामा संचालन हुने भएको हो । बर्षका सबै ‘सिजन’ मा एकैनास पानीको बहाव रहने उक्त खोलामा अन्य साहसिक खेलहरु हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै क्यानोनिङ पनि धौलागिरी अंचलमा नै पहिलो पटक संचालन गरिएको संचालक उद्धिमबहादुर गुरुङ्गले जानकारी दिए । उनी भन्छन,“क्यानोनिङ्गका लागि खोलामा सबै सम्भाव्यताहरुको अध्ययन भैसकेको छ । यसको परीक्षण निकै सफल भएको छ । अब दशैँ लगत्तै संचालनमा ल्याउने गरी तयारी भैरहेको छ ।” सदरमुकाम कुश्माबाट करीब ७ किलोमिटर टाढा रहेको उक्त ठाउँमा क्यानोनिङसंगै स्थानीय चनौटे गाउँमा होमस्टे संचालन पनि एकैसाथ गर्ने तयारी भैरहेको छ । एकीकृत सामुदायिक विकास केन्द्रद्धारा संचालनमा ल्याईने क्यानोनिङमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीहरु भैरहेको स्थानिय राजन गुरुङ्गले जानकारी दिए । नेपालका लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत देशका २० भन्दा बढी जिल्लाका झरनाहरुमा हाल क्यानोनिङ संचालन हुँदै आएका छन । तथ्याङ्क अनुसार अहिलेसम्म नेपालमा स्वदेशी र विदेशी गरी वार्षिक झण्डै १० हजार जनाले क्यानोनिङ गर्दै आएका छन । जसमध्ये महभिरको झरनामा बार्षिक कम्तीमा एक हजार पर्यटक भित्राउन सकिने संचालक समितिको विश्वास छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here