संजय रेग्मी,पर्वत – समाजमा लागू औषधको प्रयोग र ट्राफिक सेचतना कम भएका कारण बिभिन्न समस्या भएको भन्दै प्रहरी चौकी देउपुर, डिमुवाले विद्यालयमा गएर सचेतना कक्षा संचालन गरेको छ ।

मोदी गाउँपालिका अन्तर्गत वडा नं. ६ तिलाहारमा रहेको नवजागृत माध्यमिक बिद्यालयमा लागू औषध र ट्राफिक नियमको बारेमा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सवारी दुर्घटनाका जोखिम, जोखिम बढ्नुका कारण, सडक ब्यवस्थापनमा बिद्यार्थीले खुल्नुपर्ने भूमिका र नेपालमा सडक दुर्घटनाको अवस्थाका बिषयमा डिमुवा चौकी अन्तर्गत ट्राफिक प्रहरी इन्चार्ज रेशमबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, प्रहरी चौकी देउपुर डिमुवाका प्रमुख एकनारायण खनालले लागु औषधको परिचय, मानसिक असर, सामाजिक असर र लागु औषध बिरुद्ध चेतनामुलक कार्यक्रम विद्यार्थीहरुका जिज्ञासाको जवाफ दिनुभएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत झण्डै १ सय ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा शिक्षकहरुको पनि सहभागीता रहेको विद्यालयले जानकारी दिएको छ ।

आप्mनो क्षेत्रभित्रका अबैधानिक गतिबिधि हटाउन लागि परेको प्रहरी चौकी डिमुवाले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । गाँजा फडानी, जुवातास नियन्त्रण, खोलाबाट बालुवा निकासी, खोलामा माछा मार्न करेन्ट लगाउने, ट्राफिक नियमको उल्लंघन गर्ने, अबैध रुपमा आयात निर्यात गरीएका सामग्रीहरु नियन्त्रणमा डिमुवा चौकीले चासो राख्दै आएको छ ।

गएको आर्थिक बर्षमा ट्राफिक प्रहरी डिमुवाद्धारा मात्र झण्डै २७ लाख राजश्व संकलन भएको थियो । उक्त क्षेत्रका बासिन्दाहरुले पनि प्रहरीको सक्रियता बढेपछि त्यस क्षेत्रमा बिभिन्न तरीकाले राहतको महशुस भएको प्रतिक्रिया दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here