२२ भाद्र देशमा जति राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासको गति सुस्त नै रह्यो। राज्यसत्तामा पुग्नेहरू सधैं सत्ता कसरी टिकाउने भन्ने खेलमै व्यस्त हुने र प्रतिपक्षी कसरी सत्ता गिराएर त्यहाँ पुग्ने भन्ने दाउमै रम्ने प्रवृत्तिका कारण देश झन्झन् ओरालो लाग्दै तारेभीरमा पुगिरहेको छ, ऊर्जाशील जनशक्ति रोजीरोटीको लागि आफ्नो जायजेथा र स्वाभिमान बन्धकी राखेर खाडीमा पसिना बगाउन विवश छ, तर राज्य सञ्चालनको ठेक्का लिएका दलका नेताहरूलाई युवा बहिर्गमनको लर्कोले ढुक्कको सास फेर्न पाएको महसुस हुन्छ। न ‘रोजगार दे’ भन्दै कोही कराउन आउँछ, न नारा, न जुलुस, न विरोध। रोजगार दिने ‘मेनपावर कम्पनी’ छँदैछन्, देश रेमिटेन्सले चलेकै छ। ढुक्कले सत्ताको खेल खेल्यो, भत्ताले रमायो बस् ।

वैदेशिक रोजगारले सिर्जना गरेको नकारात्मक पाटो कति भयावह हुँदैछ भने यसले गर्दा परिवार, समाज, सम्बन्ध र नैतिकतामा ठूलो पहिरो गइरहेछ। यो त्यस्तो पहिरो हो, जसको रोकथामको लागि राज्यले गम्भीरतापूर्वक सोचेर बेलैमा युवाशक्तिलाई स्वदेशमै अड्याउने बलियो तारजाली तयार नगर्ने हो भने भोलि केही बाँकी रहने छैन। एकातिर रोजगार अभावले युवा बिदेसिन बाध्य छन् भने अर्कोतिर देखासिकी र विदेश मोहले गर्दा खेतबारीमा सिस्नु उमारेर बिदेसिनेको लर्को पनि कम छैन। तर विदेशमा पसिनासँग साँटेर पठाएको पैसा न राज्यले सदुपयोग गरिरहेको देखिन्छ न त परिवारले। जवानीको उर्जाशिल समय सवै विदेशमा गूमाउनू पर्दा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुकालई डिप्रेशनले सताउने गरेको छ । दिन दिनै एउटै काम एउटै डिप्टी गर्नाले यूवा जोशलाई नकरात्मक विचार तिर धेरै मोड्ने अवस्था देखिएको छ । दैनिक जसो १२ घण्टा डिप्टी गरेर समय विताउनेलाई स्वदेशको र घरपरिवारको ठूलो चिन्ता हुने गर्दछ । तर स्वदेशकमा शासन चलाउनेहरु र घरपरिवार चलाउने हरु विदेशमा सित्तैमा पैसा आउछ जस्तो सोच्ने गर्दछन् ।

उता जोखिम मोलेर कमाएको पैसा यता मायाले सम्हालेर राख्ने र सदुपयोग गर्नेभन्दा दुरुपयोग गर्ने र बेइमानीपूर्वक धोका दिँदै लोग्नेको रगतपसिनाको कमाइ कुम्ल्याएर भाग्ने प्रवृत्ति दिनप्रतिदिन संक्रामक रोगजस्तै फैलिइरहेछ। यस्ता प्रवृत्तिका समाचार जब अखबारका पानामा छापिन्छन्, तब सामाजिक सञ्जाललगायतमा आवाज चर्किन्छ, ‘महिलामाथि हिंसा भयो भनेर कुर्लिने अधिकारवादीहरू ! देख्यौ कसरी महिलाहरू पुरुषमाथि हिंसा गरिरहेछन् ? के हेरेर बसेका छौ ? ‘ मानौं लोग्नेले विदेशमा दुःख गरेर कमाएको पैसा पोको पारेर परिवारको बिचल्ली पार्दै भागेर बेपत्ता हुन अधिकारवादीहरूले नै हौस्याइरहेका छन्। समस्याको टुसा कहाँबाट उम्रेको छ र यसको जरो कहाँसम्म पुगेको छ भनेर सोच्ने र खोज्ने प्रयास कतैबाट भएको हुँदैन, केवल ‘महिलाले पुरुषलाई हिंसा गरे’ भन्यो, करायो बस्।

यस्ता घटना हिंसाको सूचीमा भन्दा पनि अपराधको सूचीमा पर्छन्। लोग्नले विदेशमा मरीमरी कमाएर पठाएको सम्पत्ति दुरुपयोग गर्ने र कुम्ल्याएर बेपत्ता हुने प्रवृत्ति गम्भीर अपराध हो। यस्ता अपराध किन र केकसरी बढिरहेछन् भनेर राज्य, समाज र परिवारका सदस्य स्वयंले गम्भीरतापूर्वक अनुसन्धान नगर्ने र चासो नदिने हो भने यो समस्या कति बिकराल बन्नेछ भने यसले परिवार व्यवस्थालाई नै भताभुंग पार्नेछ। अतः यस्ता अपराध गर्ने महिला र यसमा संलग्न पुरुष दुवैलाई खोजीखोजी कडा सजाय दिनुपर्छ।

नेपाली समाज संयुक्त परिवारबाट एकात्मक बन्दै गर्दा विदेशमा गएर दुईचार हजार कमाउनेबित्तिकै श्रीमतीलाई सुख दिने नाममा परिवार र बाबुआमाबाट अलग गरेर सहरमा कोठा खोजेर राखिदिने चलन छ। अझ बहाना बन्छन् भर्खर जन्मेका बच्चा, जसको ‘भविष्य बनाउने’ भन्दै तिनलाई गाउँका ‘स्कुल’ लाग्दैनन्।

सहरका निजी स्कुलमा बच्चा भर्ना गरिदिने चलन छ। दिनभर बच्चा स्कुल जान्छ, फुर्सदिला आमाहरू एक्लोपन मेटाउन यताउता भौंतारिने प्रवृत्तिसँगै ‘केही’ को लागि यी एक्ला महिला ‘गतिलो र सजिलो जागिर’ भैदिन्छन्। एकातिर लोग्नेले वर्षौंसम्म छोडेर बिदेसिने, अर्कोतिर पराइले माया देखाउने र पछ्याउने हुनाले लोग्नेको माया अन्यत्रै मोडिन्छ।

कमाउन र परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति। कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन्। यस्ता अपराध गर्ने महिला त दोषी हुन् नै, यो वातावरण तयार पारिदिनेको पनि गल्ती छ।

अन्तत ः वैदेशिक रोजगारमा गएकाहरूका कोहीकोही श्रीमतीहरू यतिसम्म सोचहीन, कर्तव्यहीन र बेइमान निस्किदिन्छन् कि उनीहरूले ‘आफ्नै लागि, आफ्नै खुसी र सुखी जीवनको लागि लोग्नेले विदेशमा पसिना बगाएर कमाएको छ, लोग्नेको पसिनाको कमाइ मैले संरक्षण गर्नुपर्छ’ भन्ने नसोची ‘परपोषण’ गर्ने वा परपुरुषसँग भागेर बेपत्ता हुने गर्छन्। अन्ततः कमाउन र परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति। कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन्।

यस्ता अपराध गर्ने महिला त दोषी हुन् नै, यो वातावरण तयार पारिदिनेको पनि गल्ती छ। यस्ता घटनालाई हिंसाको कोटीमा राखेर हिंसाविरुद्ध आवाज उठाउनेहरूलाई धारेहात लगाउनुभन्दा समाजमा यस्ता आपराधिक घटना उत्पन्न हुने संकेत देखिनेबित्तिकै सम्बन्धित परिवारलाई जानकारी दिने वा सचेत गराउने कर्तव्य हरेक सचेत नागरिकको हुन जान्छ। कुनै पनि अधिकारवादी महिलाले कसैको घर उजाडेर, कसैको पसिनाको कमाइ लिएर बेपत्ता हुन वा भाग्न कुनै महिलालाई उकास्न चाहदिनँ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here