भाद्र २१, प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बुधबार आज  उम्मेदवारी दर्ता हुँदै छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । तेस्रो चरणमा प्रदेश २ का गाउँपालिका र नगरपालिकामा निर्वाचन हुन लागेको हो । असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा नेतृत्वका लागि मतदान हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

यसअघि, पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भई जिम्मेवारी सम्हालिसकेका छन् ।

राजपासमेतले चुनावमा जाने निर्णय लिएपछि उक्त प्रदेशमा चुनावी वातावरण बनेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउन दल र स्वतन्त्र उम्मेदवारसहित सबैलाई आह्वान गरेका छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले मनोनयन दर्तामा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्नेलाई सुरक्षा निकायले कारबाही गर्ने बताए । ‘सरकारले तीन तहको सुरक्षा व्यवस्था मिलाएको छ । सुरक्षा योजनाको वास्तविक कार्यान्वयन गरी सुरक्षा व्यवस्थापन भरपर्दो बनाउन आयोगले सुरक्षा निकायलाई निर्देश गरेको छ,’ उनले भने, ‘निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति रहने सरकारले विश्वस्त तुल्याएको जनकारी गराउन चाहन्छु ।’

सम्बन्धित स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ । राजनीतिक दलले प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक पदमा अनिवार्य रूपमा महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ ।

त्यही प्रावधानअनुसार पहिलो र दोस्रो चरणको निर्वाचनबाट उपप्रमुख/उपाध्यक्ष पदमा करिब ९० प्रतिशत महिला निर्वाचित भइसकेका छन् ।

प्रत्येक वडामा हुने ४ जना वडा सदस्यमा एक जना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । महिला, दलित, अल्पसंख्यकलगायतले उम्मेदवारी मनोनयन गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको कानुनी व्यवस्था छ । वडा सदस्यका लागि ५ सय, वडाध्यक्षका लागि १ हजार, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिएको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी परिचालन हुने आयोगले जानकारी दिएको छ । कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० छन् । तिनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here