भाद्र १९,  स्याङ्जाको ठूलाडिही–८ घर भई पोखरा–१४ स्वागतनगरमा बस्दै आएकी देवकुमारी थापा भुजेल झन्डै ४० करोड ठगेर फरार भएकी छन् । उनीसँगै श्रीमान् लक्ष्यबहादुर थापा र तीन सन्तानसमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जग्गा कारोबारी देवकुमारीले विभिन्न बहानामा चिनेजानेका, साथीभाई तथा आफन्तजनबाट रकम लिँदै आएकी थिइन् । घरजग्गा र गाडीसमेत देखाएर रकम संकलन गर्न उनी सफल भएको प्रहरीले जनायो । जग्गा किन्ने र श्रीमान्लाई अमेरिका पठाउनेजस्ता बहानामा उनले पैसा सापटी तथा ऋण लिँदै आएको खुलेको छ । उनका पति लक्ष्यबहादुर भारतीय सेनाका पेन्सनर हुन् ।

सबैसँग मीठो बोल्ने, भेट्न जाँदा सुनका गहनादेखि कपडा, फलफूल लैजाने, टोलमा कसैलाई दु:ख तथा बिरामी पर्दा तुरुन्तै आर्थिक सहयोग गर्थिन् देवकुमारीले । ‘वर्षौंदेखि यस्तो व्यवहार गर्दै आएपछि सबैले विश्वास गरेर पैसा दिइयो,’  पीडित बालमाया पुनले भनिन्, ‘जग्गा पास गर्नुपर्‍यो भनेर मैलै पनि पैसा दिएँ । आज यस्तो हालत भयो ।’

देवकुमारीले उनको मात्रै ५० लाख रुपैयाँ लगेकी छन् । केही दिनमै फिर्ता दिन्छु भनेपछि पैसा दिएको तर अहिले आफूजस्ता सयौं जनालाई ठगेको पाइएको उनले बताइन् । बिहे हुनुअघिदेखि नै जग्गाको कारोबार गर्दै आएकी देवकुमारीले पति जागिरमै रहेका बेलासमेत धेरै जनासँग आर्थिक लेनदेन गरी विश्वास जितेकी थिइन् । भदौ १४ मा उनको परिवार फरार भएको हो ।

प्रहरीमा सोमबारसम्म केही पीडितले ठगीविरुद्ध निवेदन दिएका छन् । ५ जनाको मात्रै लिखित जाहेरी परेको जिल्ला प्रहरीका डीएसपी खड्गबहादुर खत्रीले बताए । प्रहरीको सम्पर्कमा आएकाको मात्रै करिब २७ करोडभन्दा बढी रुपैयाँ ठगिएको पाइएको छ ।

अझै ५० जनाजति पीडित रहेको अनुमान गरिएको छ । ‘पीडितहरू आउने क्रम जारी छ,’ डीएसपी खत्रीले भने, ‘घरजग्गा सबै बेचेर परिवार नै भागेको छ । हामीले पनि ४० करोड रुपैयाँभन्दा माथि ठगेको अनुमान गरेका छौं ।’  प्रहरीले उनको खोजी सुरु गरेको छ । हुलियासहित सबै चौकीहरूमा पत्राचार गर्दै खोजी कार्यलाई तीव्र बनाएको प्रवक्तासमेत रहेका डीएसपी खत्रीले बताए । ईकान्तिपूरवाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here