१७ भाद्र बैतडी । नरभक्षी चितुवाको आक्रमण नरोकिएपछि बैतडीको तल्लोसोराडमा फेरी प्रहरी परिचालन गरिएको छ । चितुवा मार्नका लागि हतियारसहितको प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत शनिवारदेखि ४ सय मिटर टाढा सम्म मार हान्न सक्ने राईफल, एसएलआर लगायतका हतियारसहति १७ जना प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक कमल विष्टले बताए । ‘केही समय निष्कृय रहेको चितुवा फेरी मानवबस्तीमा पसेको छ,’ प्रहरी निरिक्षक विष्टले भने, ‘चार सय मिटर मार हान्न सक्ने हतियारसहति १७ जना प्रहरीको गस्ती सुरु भएको छ ।’
प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी टोली मेलौली नगरपालिकाको वडा नम्बर ९ मा गस्ती गरिहेको छ । गत बिहीबार मात्रै उक्त वडामा स्थानिय कुन्धादेवी भट्टलाई घासँ काट्ने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवा मार्नका लागि पहिलो पटक प्रहरी परिचालन गरिएको भने होइन । गत बर्ष पनि १५ जना प्रहरी हतियारसहित परिचालन गरिएको थियो । तर उक्त टोली चितुवा मार्न असफल भएको थियो । स्थानिय प्रसशासन र प्रहरीबीचको समन्यवमा चितुवा मार्न प्रहरी परिचालन गर्ने गरिएको छ ।
६ बर्षमा २३ जनाको ज्यान लियो
विगत ६ बर्षको अवधिमा तल्लोसोराडमा २३ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । २०६८ सालदेखि हालसम्म चितुवाको आक्रमणवाट २३ जना सर्वसाधारणले ज्यान गुमाइसकेका हुन् भने १४ जना घाइते भए । २०६८ सालदेखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार चितुवाले तल्लोस्वराडमा २०६८ देखि २०७२ साल सम्म २१ जनाको ज्यान लिएको छ भने २०७३ मा २ जनाको ज्यान लिइसकेको छ । मृत्यु हुने मध्येमा विशालपुरमा १० जना, पञ्चेश्वर र आमचौराका ३/३, उदयदेवका ४ जना र कुलाउ, गिरेगाडा र शर्मालीका एक\एक जना रहेको जिल्ला वन कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुने १९ जना १५ वर्षमुनिका बालबालिका छन् ।
त्रसित छ तल्लोसोराड
गत बर्षमात्रै चितुवाले उदयदेवमा दुई बालिकाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा झनै त्रसित बनेका छन् । एकपछि अर्को गर्दै लगातार चितुवाले आक्रमण गर्न थालेपछि तल्लो सोराडका वस्तीहरुमा अहिले साझ नपर्दै भित्रिने सुरसार चल्छ ।
चितुवाले घर आँगन र घरभित्रै पसेर आक्रमण गरेपछि स्थानीय बासिन्दा अझ बढी त्रसित भएका हुन् । ‘घरआँगनै असुरक्षित भएपछि विहानै बालबालिकालाई विद्यालय पठाउन पनि समस्या भो,’ उदयदेवका स्थानिय शिवराज साउदले भने, ‘बालबालिका र महिला बढी जोखिममा पर्न थाले ।’ तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका क्षेत्रमा चितुवा बढी सक्रिय हुनेगरेको छ । त्यस क्षेत्रका नागरिकलाई रातिको समयमा दिशापिसाव गर्न आफ्नै आगनमा रहेको शौचालय जान पनि नसकिने अवस्था रहेको छ ।
वन्यजन्तु विशेषज्ञको टोलीले आहारको कमी, घरआँगन अँध्यारो हुनुलगायत कारणले चितुवा हिंस्रक भएको औंल्याएको थियो । उक्त तथ्यका आधारमा वन कार्यालयले सुरक्षाका लागि पीडित परिवारलाई सोलार वितरणका साथै विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर चितुवाको आक्रमण रोकिएको छैन ।