२९ काठमाडाैं  साउन अविरल वर्षाका कारण शुक्रबारदेखि आएको बाढीपहिरोमा परी देशका विभिन्न भागमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार कति बेपत्ता भएका छन् भन्ने यकिन छैन । जिल्ला तहमा प्रशासन, प्रहरी र सुरक्षा निकायले भने यी सबै संख्या पुष्टि गरिसकेका छैनन् । कतिपय जिल्लामा गृहले घोषणा गरेको तथ्यांकभन्दा बढी मृत्यु भएको पाइएको छ ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ को २ नं बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरीसहित चारको शनिबार बिहान करिब २ बजे खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीया आमा दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरू १० वर्षीय अनिश र ७ वर्षीय मनीष छन् । सुतिरहेका दुर्गाकुमारीका श्रीमान् उदयबहादुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

बाँकेको राप्तीसोनारी–४ लालपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति बाढी पसेर घर भत्किँदा कविराज थारूका छोरीहरू १२ वर्षीया अञ्जु, ९ वर्षीया सरिता र, ७ वर्षीया सुस्मिताको ज्यान गएको हो ।

सर्लाहीमा बाढी पसेर घर भत्किँदा र खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । धनकौल गाउँपालिका– १ मानपुरका ७५ वर्षीय किशोरी रायको घरले थिचेर ज्यान गएको हो । त्यस्तै बरहथवा नगरपालिका–१० सीतापुरका १७ वर्षीय राकेशकुमार साहलाई सोती खोलाले बगाएको प्रहरीले जनाएको छ । अपराहन वागमती नदीले बगाएर ल्याएको एक शव फेला परेको छ । मृतकको सनाखत हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here