२८ साउन पर्वत १७ औं अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा जिल्ला यूवा परिषदको कार्यालय पर्वतले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला स्तरीय रुपमा आयोजना गरिएको उक्त प्रतियोगितामा नमूना अंग्रेजी आवासिय मा.वि. कुश्माकी समीक्षा शर्मा प्रथम, शिवालय मा.वि. कुश्माकी बिपना सापकोटा द्धितिय, नवजागृत मा.वि. तिलाहारका सागर विश्वकर्मा तृतिय र शिवालय मा.वि. कुश्माका सूदीप लामिछाने सान्त्वना भएका छन ।
शान्ति र समृद्धिमा यूवा शीर्षकमा भएको प्रतियोगितामा प्रतियोगीहरुले विकाशोन्मुख देश नेपालमा शान्ति स्थापना र समृद्धिका लागि यूवाहरुले खेल्नुपर्ने भूमिकाको बिषयमा बिचार व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, विद्यालय निरीक्षक उद्धीमराज पौडेल, शिक्षक बालकृष्ण बास्तोला लगायतले अहिलेका यूवाहरुले सकारात्मक सोचका साथ समाज परिवर्तनमा भूमिका खेलेमा समाजको परिवर्तन सम्भव रहेको उल्लेख गर्नुभयो ।
विद्यार्थी जीवन सबैभन्दा अमूल्य र सोचको विकास गर्ने समय भएका कारण यो समयमा आवश्यक मिहिनेत गरेमा विद्यार्थीको जीवन अमूल्य बन्ने वक्ताहरुको तर्क थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक सूदीप क्षेत्रीले बिभिन्न गीत प्रस्तुतीहरु राख्नुभएको थियो । निमित्त कार्यालय प्रमुख मिलन पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन शिवालय मा.वि.की छात्रा समीक्षा शर्माले गर्नुभएको थियो ।