काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईका ‘दाहिने हात’देखि सह संयोजकसम्म नेकपा माओवादी केन्द्रमा फर्किने अन्तिम तयारीमा पुगेका छन् ।

उद्देश्यअनुसार पार्टी अगाडि बढ्न नसकेको, प्रत्यक्ष कार्यकारी एजेण्डा माओवादी केन्द्रले आत्मसात गरेको र नयाँ शक्तिको आर्थिक समृद्धिलाई प्राथमिकता दिएका कारण नयाँ शक्तिको ठूलै समूह माओवादी केन्द्रमा फर्किन लागेको स्रोतले बतायो ।

स्रोतका अनुसार नयाँ शक्तिमा बाबुरामका ‘दाहिने हात’ देवेन्द्र पौडेलसहितका केही नेताहरुले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर पाटी परित्याग गर्दैछन् । पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले आज पार्टी छोड्न लागेका हुन् । यता पौडेलसहितका नेताहरुको माओवादी केन्द्रका अध्यक्षसँग निरन्तर वार्ता चलिरहेको छ ।

नयाँ शक्तिका एक नेताका अनुसार केन्द्रीय कार्यकारी समिति विघठन गरेपछि असन्तुष्टि बढेको, फोरमसँगको एकता भाँडिएपछि चुनावमा कसरी जाने भन्ने विषयमा पार्टीभित्र चर्को विवाद भएको, नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेलसहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने निष्कर्षमा पुगेका हुन् ।

सहसंयोजक पनि माओवादी प्रवेश गर्दै

यस्तै, एमालेमा प्रवेश गर्न लागेको भनिएका नयाँ शक्तिका सहसंयोजक एवं मधेस ब्यूरो प्रमुख रामचन्द्र झा पनि माओवादीमा प्रवेश गर्ने तयारीमा छन् । उनी एमालेबाट माओवादी हुँदै नयाँ शक्तिमा आएका थिए । तर, केही दिनअघि उनले नयाँ शक्ति पनि छाडिसकेका छन् । त्यसपछि उनी उपाध्यक्ष पदसहित एमालेमा फर्किने चर्चा सुनिएको थियो । तर, एमालेका मधेसी नेताहरु सत्यनारायण मण्डल, रघुविर महासेठको अन्तरविरोधका कारण उपाध्यक्ष पद नपाउने भएपछि झा अहिले माओवादी केन्द्रतिर जाने गृहकार्यमा लागेका हुन् ।

यसका लागि झाले अहिले लाजिम्पाटमा छलफलमा माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् । झा सँगै रामबहादुर थापा बादल, जनार्दन शर्मा लगायतका नेताहरू छलफलमा छन् ।

देवेन्द्र पौडेल समूह र रामचन्द्र झालाई एकैदिन पार्टीमा स्वागत गर्नेगरी माओवादीले तयारी गरिरहेको एक नेताले जानकारी दिए । उनका अनुसार बाबुरामका ‘दाहिने हात’ नै माओवादीमा आएकाले केही दिनमा बाबुराम पनि केही न केही सम्झौता गरी पार्टीमा फर्किने उनको दाबी छ । किनकि बाबुराम देवेन्द्र पौडेलविना कुनै पनि काम गर्दैनन् । उनलाई देवेन्द्रको साथ चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here