बिद्यालयबाट भाग्ने क्रममा घाइते भएका साजन गण्डकी अस्पतालमा उपचार गर्दैै ।

२६ साउन बागलुङ : जिल्ला सदरमुकामको छेउमा आकर्षक रुपमा रहेको धौलागिरी बहिरा बिद्यालय छ । भीरकै माथि ठडिएको छ बिद्यालय । यो ठाउँमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर वरिपरी तारवार समेत लगाइएको छ । उसो त बिद्यालयका शिक्षक, कर्मचारीहरुको रेखदेख पनि उस्तै छ । तर, बिद्यालय समयमै शिक्षक, कर्मचारीको आँखा छलेर बिद्यालयमा अध्ययनरत दुई बहिरा बिद्यार्थी बुधवार भाग्ने क्रममा अकल्पनीय दुर्घटना बेहोर्न बाध्य भए ।

कक्षा १० मा पढ्दै गरेका बागलुङको जैमिनी नगरपालिका पैयुथन्थापका २३ बर्षीय साजन परियार र तनहुँको ब्यास नगरपालिकाका २० बर्षीया सोममाया आले दुई बर्षदेखि सम्वन्धमा भएको उनका सहपाठीहरु बताउँछन् । त्यही सम्वन्धलाई बिवाहमा परिणत गर्ने निर्णयपछि बुधवार मध्यान्ह बिद्यालय समयमै उनीहरुले भाग्ने योजना बनाएका थिए । बिद्यालयबाट मध्यान्ह १२ बजे तिर गोप्य रुपमा भाग्ने क्रममा नजिकैको भिरबाट लडेर साजन गम्भिर घाइते भएका छन् ।

घाइते परियारको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । घटना भएको केही समयमै उद्धार गरी धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका लागि लगिएका उनको मेरुदण्ड भाँचिएको अस्पतालले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकहरुले ‘स्पाइनल कट’ को समस्या देखिएकाले अब शरिरको तल्लो भाग चल्ने सम्भावना न्युन देखिएको बताएका छन् । उपचारमा चामत्कारिक सुधार नभए साजनले अब प्यारालाइसिसको समस्या बेहोनुपर्नेछ । सोममाया र साजन दुवै बिद्यालयकै होस्टेलमा निशुल्क रुपमा अध्ययन गर्दै आएका थिए ।

‘दुवै जनाको सरसल्लाह मुताविक भाग्ने र पोखरातिर गएर बिवाह गर्ने योजना बनाएका रहेछन्, बिद्यालयका शिक्षक नविन बिकले भने, ‘बिद्यालयकी छात्रा आले सल्लाह अनुसार पहिल्यै भागेर बिद्यालय भन्दा तल पोखरा–बागलुङ राजमार्गको घुम्तीमा पुगिसकेकी रहिछिन्, यता कक्षा चलिरहेकै बेला साजनले दुवै जनाको झोला, कपडा लिएर कसैले देख्ने सन्त्रासमा हतास मनस्थिति लिएर दौडिदा भिरबाट लडेर दुर्घटना भएको हो ।’ उनका अनुसार साजनलाई दुर्घटनामा परेपछि धौलागिरी अञ्चल अस्पताल पु¥याउदा पनि कान नसुन्ने भएकाले सोममाया अर्को छेउको घुम्तीमा साजनकै प्रतिक्षामा थिइन् । धेरै पछि मात्र दुर्घटना भएको जानकारी पाइन् तर बिद्यालय फर्किन असहज लागेपछि उनी एक्लै पोखरा पुगेको बताइएको छ ।

सोम मायाका बुवा मानबहादुर आलेका अनुसार सोममायाले भाईलाई फोन गरेर आँफु पोखरा रहेको र अब घर पनि नजाने, बिद्यालय पनि नजाने भन्दै लिन आउन आग्रह गरेकी छिन् । बिद्यालयका गुरु र अभिभावकको कुरा नसुनेर भावनामा बहकिदा यस्तो घटना भएको मानबहादुरले बताए । साजनका बुवा इण्डियामा मजुदरी काम गर्छन् भने आमाको केही बर्ष अघि नै निधन भइसकेको छ ।

‘कक्षा ९ देखि नै साजन र सोममाया लभ अफेयर्समा भएको जानकारीमा आएको थियो,’ ‘बिद्यालयका प्रधानध्यापक मधुसुदन न्यूरेले भने, ‘हामीले त्यो सूचना पाएपछि पटक–पटक उनीहरुलाई छुट्टाछुट्टै राखेर पनि सम्झाई बुझाई गरेका थियौ, तर गुरुहरुको सुझाव नमान्दा आज यस्तो दुर्घटना भएको छ, यो घटनाले हामी चिन्तित र थप सचेत समेत भएका छौ ।’ उनले बिद्यार्थी र अभिभावकहरु पनि यी र यस्ता बिषयमा अब गम्भिर बन्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here