२४ साउन लमजुङ ।  इजरायलबाट नेपाल फर्केर कृषि कर्ममा लागेका युवाको पौरख हेर्न नेपालका लागि इजरायली राजदूत यारोन मायर मंगलबार लमजुङ पुग्नु भएको छ । उहाँसहितको टोलीले सुन्दरबजार नगरपालिका ३, दुराडाँडा अर्चल्यानीको जल्केनीमा संचालनमा ल्याइएको एकीकृत कृषिबस्तीको अवलोकन गरेको छ । गत कार्तिकबाट संचालनमा ल्याइएको एकीकृत कृषि वस्तीको अवलोकनका क्रममा जिल्लाका सांसद तथा जनप्रतिनिधिसहित थिए ।
इजरायलमा आधुनिक कृषिको प्रशिक्षण तथा काम गरि फर्केका युवाहरुले आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनी लिमिडेट स्थापना गरि २ सय २० रोपनीमा आधुनिक कृषिफार्मको सुरुवात गरेका छन् । सुरुवातमा गोलभेंडा खेतीका लागि ग्रीनहाउस (हरितगृह) र कुखुरा पालनको लागि खोर निर्माण गरेका छन् । उनीहरुले आधुनिक कृषिसंगै पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नेगरि काम सुरु गरेको संस्थाका अध्यक्ष विनोद घिमिरेले बताउनुभयो । सो संस्थामा युवाहरुले २ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् ।
सुरुमा ७४ जना युवा मिलेर संचालनमा ल्याइएको सो कृषि वस्तीमा हाल ९४ जना युवा छन् । विभिन्न २४ जिल्लाका उनीहरुमा ५३ जना इजरायलमा कृषि पढेर आएका छन् । २१ जना गैरआवासीय नेपाली हुन् । बाँकी पछि मिसिएका हुन् । अवलोकनपछि इजरायली राजदूत यारोनले एकल कृषिभन्दा एकीकृत कृषिले विकास गर्न सहज हुने बताउनुभयो । ‘इजरायलको मरुभूमिमा समेत कृषि कर्म गरेर युवाले नमुना प्रस्तुत गरेका छन् । यहाँ त काम गर्न नसक्ने कुरै भएन’ उहाँले भन्नुभयो । कृषिमा आधुनिकीकरणको खाँचो रहेको उहाँले बताउनुभयो ।
सांसद भीष्मनाथ अधिकारी, चन्द्रबहादुर कुँवर, जमीन्द्रमान घले, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा लगायतले देशमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरुले आफ्नै पौरखले गर्न लागेको कार्यप्रति उनीहरुले खुलेर प्रसंसा गरे । युवाहरुले गाई, बाख्रा, बंगुर, माछा, हाँस, कुखुरा लगायत पाल्नुका साथै विभिन्न प्रकारका तरकारी खेति गरिने प्रवीणप्रमोद खतिवडाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here