पर्वत, साउन २४–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन भइरहनु चिन्ताको बिषय भएको बताएका छन् । उनले गाउँमा सीप सिकाएर युवा र महिलाहरुलाई आयआर्जनमा लगाएर बैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।
जलजला गाउँपालिका वडा नम्बर १ बासखर्कस्थित बराहइनी युवा क्लबद्धारा नवनिर्मित मञ्चको सोमबार उद्घाटन गर्दै जोशीले सडक, बिद्युतीकरण खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लामो समयदेखि प्राथमिकता दिएको भन्दै अब बैदेशिक रोजगारीलाई रोक्ने र युवा र महिलाको आयआर्जनमा लक्षित गरेर योजना बनाउने जानकारी दिए ।
‘सडक, बिद्युतीकरण, खानेपानी, स्वास्थ्य, शिक्षामा धेरै काम गरे अब जनताले प्रत्यक्ष रुपमा लाभ लिनसक्ने आयआर्जनको क्षेत्रलाई लक्षित गरेर योजना बनाउने सोच बनाएको छु’ सांसद जोशीले भने–‘अब मेरो लक्ष्य गाउँमा बसौ–बसौ बनाउनेतर्फ केन्द्रीत रहन्छ ।’ युवाहरु बिदेश जादा परनिर्भरता बढेको उल्लेख गर्दै जोशीले स्थानीयस्तरमा उत्पादनलाई जोद दिएर बिदेश जाने क्रमलाई रोक्नुपर्ने बताए ।
आयआर्जनको स्पष्ट योजना बनाएर ल्याउनेलाई आवश्यक बजेटको ब्यवस्था मिलाउने भनाई सांसद जोशीको छ । ‘आयआर्जन गर्न सीप लिनका लागि पैसाको अभाव हुनेछैन’ जोशीले भने ।
उनले गाउँको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिदै विकासमा कसैले पनि राजनीतिक स्वार्थ राख्न नहुने बताए । आफुले कहिल्यै विकास निर्माणको काममा भोट केन्द्रीत नगरेको बताउदै भने–‘मैले गाउँका जनताको आवश्यकतालाई धेरै मात्रामा पुरा गर्दै आएको छु तर कहिल्यै विकास गरेवापत मलाई भोट हाल्नुस भनेर भनेको छैन ।’
उनले निर्वाचनमा जुन पार्टीबाट जितेपनि जनताको काममा राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । उनले आफु ०५६ सालदेखि निर्वाचित हुदै आउदा सबैभन्दा बढी जलजला गाउँपालिकाक्षेत्रको विकासमा लागेको भन्दै एक घर एक धारा र विशेष महत्व मानिएको वारीबेनी बासखर्क लोप्रे सडकलाई बाह्रै महिना चल्ने बनाउन आफुले योजना बनाएको बताए ।
हिजोको बासखर्क र आजको बासखर्कमा धेरै भिन्नता आएको भन्दै जोशीले हिजो सञ्चार र यातायातको अभावमा चिठी समेत पठाउन नपाएको स्मरण गरे । उनले बासखर्कमा विविध लोकसंस्कृति रहेको र त्यसको विशेष रुपमा संरक्षण हुनुपर्ने बताए । उनले संस्कृति संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताए ।
बासखर्कको सुन्तला उत्पादनले गाउँमात्र नभएर जिल्लालाई नै चिनाउन सफल भएको उनले बताए । उनले सुन्तला बगैचामा ‘ओरेन्ज ट्रेकिङ’ को ब्यवस्था मिलाएर पर्यटक तान्न सकिने पनि बताए ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर क्षेत्रीले जलजलालाई समृद्ध गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफु निरन्तर लाग्ने बताए । गाउँगाउँमा सडक, बिद्युत, स्वास्थ्य केन्द्र, शैक्षिक क्षेत्रमा आवश्यक भौतिक संरचनालगायतका विकासे योजना पु¥याउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले महत्वपूर्ण भुमिका खेलेकोले जोशीसँग समन्वय गरेर बाँकी काम गर्दै जाने बताए ।
नेपाली काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले विकासका लागि पर्वत क्षेत्र नम्बर १ ले अर्जुनप्रसाद जोशीजस्तो जनप्रतिनिधि पाएकै कारण सडक, खानेपानी, स्वास्थ्य, शिक्षाक्षेत्रमा प्रगति हुन सकेको बताए ।
बराहइनी युवा क्लबका अध्यक्ष तेजबहादुर खत्रीको अध्यक्षता र पूर्वसहसचिव शिवबहादुर पाइजाको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रबहादुर जिसी, जलजला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तुलसीराम रेग्मी, २ का वडा अध्यक्ष गोबिन्द खत्री, ३ का वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी, ४ का वडा अध्यक्ष भिष्म मल्ल, नेपाली काँग्रेस जलजला वडा नम्बर १ का सभापति शेरबहादुर खत्री, एमालेका अध्यक्ष मनबहादुर पुर्जा, आमा समुहका अध्यक्ष जमुना पुनलगायतले बोलेका थिए ।
नवनिर्मित मञ्च ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीबाट दुई लाख र एक लाख ५० हजार क्लबको स्रोतमा निर्माण सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here