२३ साउन, काठमाडौं । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिहरूका लागी महङ्रगाे माेवाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

प्रमूख शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ ।

भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।प्रमूख  शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

महानगर स्रोतका अनुसार,प्रमूख विद्यासुन्दर शाक्यले हाल चढ्दै आएको गाडी  कन्डिसनमा छ । स्रोतले भन्यो, ‘प्रमूख र उप प्रमूखलाई अहिले नै गाडी दिइएको छ । गाडी राम्रै कन्डिसनमा छ । तर, पनि नयाँ गाडी मगाइएको छ ।’

अनौठो त के भने केही समयअघि ढलमा परेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न भन्दा काठमाडौं प्रमूख शाक्यले नै वर्षामा खाल्डा पुर्दा जनताले तिरेकाे कर खेर जान्छ भनेका थिए । तर, तीनै प्रमूखले आफ्ना लागि १ करोड २० लाख पर्ने गाडी मगाएका छन् ।

सडकको खाल्डो किन पुरिएन भनेर जनताले सोध्दा प्रमूखले मितब्ययिताको भजन गाएका छन्  । अहिले बिलासी गाडी चढ्ने चाहनाले नै उनकाे महानगरप्रतिको प्रतिवद्धतामा ठेस लाग्यो’ एक जनप्रतिनिधिले भने ।

प्रमूखलाई मात्र होइन, उप प्रमूख हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको छ । यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको स्रोतले बताएको छ ।

यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये २ करोड प्रमूख र उपप्रमूखकै गाडीका लागि खर्च हुनेछ ।

अब प्रमूख शाक्यले आफू नजिकका केही वडाअध्यक्षलाई पनि यसैवर्ष गाडी दिने योजनाअनुसार ठूलो रकम छुट्याइएको दाबी महानगर स्रोतको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here