२३ साउन पर्वत- फलेवास नगरपालिका ४ मुडिकुवादेखि नगरपालिकाकै ५ नम्बर वडा (खानीगाउँ) सम्मको करिब सात किमि कालोपत्रेको काम अलपत्र परेको छ । सम्झौता गरेका निर्माण व्यवसायीले समयमा काम नगर्दा सम्झौता सकिएको एक महिना बित्नै लाग्दा कामको प्रगति ३४ प्रतिशत मात्रै छ ।
कुश्मा र फलेवास नगरपालिका जोड्ने मुख्य सडक स्थानीय विकास मन्त्रालयअन्तर्गत नेपाल सरकारको ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम महाशाखाले ७२ असारमा कालोपत्रे सुरु गरेको हो । ३.७५ मिटर चौडा र ६.७ किमि प्रिमिक्स कार्पेटिङ गर्न चितवनको ओएसीस एन्ड बिल्डर्स निर्माण कम्पनीले ११ करोडमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतापछिका केही समय
भारतीय नाकाबन्दीका कारण काम रोकिएको थियो ।
नाकाबन्दी खुलेपछि पनि लामो समय रोकिएको काम कम्पनीले स्थानीय ‘पेटी ठेकेदार’ लाई जिम्मा लगाएको फलेवासका मेयर पदमपाणि शर्माले बताए । ‘सम्झौता गरेको कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको रहेछ,’ शर्माले भने, ‘अहिले कुनै पनि ठेकेदार सम्पर्कमै छैनन् । बाटो पैदल हिँड्नै नहुनेगरी भत्काएर छोडेको छ ।’ सडकको दुवै किनारमा नाली निर्माणका लागि खनिएको माटोमा पानी जमेर पैदलयात्रीलाई समेत समस्या भएको छ ।
मुडिकुवा हुँदै फलेवासका चार वडा र महाशिला गाउँपालिका समेत जोड्ने यो सडक जिल्लाकै मुख्य व्यावसायिक हो । समयमा काम भए ग्रामीण क्षेत्रका सर्वसाधारणहरूको दैनिकीमा धेरै सहज बनाउँछ । गत जेठदेखि काम छोडेर ठेकेदार सम्पर्कमै नआएपछि स्थानीय जनप्रतिनिधिसमेत आक्रोशित छन् । जिल्ला प्राविधिक कार्यालयका निमित्त जिल्ला इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीका अनुसार लामो समयको नाकाबन्दीका कारण सम्झौता मिति बढीमा ६ महिना थपिन्छ । ‘रेनिङ सिजन (बर्खाको समय) मा काम गरे पनि सफल नहुने भएर रोकिएको हो,’ भण्डारीले भने, ‘अरू ६ महिना म्याद थप्नेगरी डकुमेन्ट आएका छन् । उसले चैतसम्म सक्छु भनेको छ ।’ प्राविधिक इस्टमेटअनुसार ३४ प्रतिशत काम सकिए पनि ३३ प्रतिशत मात्रै भुक्तानी दिइएको उनले बताए । प्राविधिक कार्यालयका अनुसार थपिएको ६ महिनाभित्र पनि काम नसकिए दैनिक ० दशमलव ०५ प्रतिशत जरिवाना तिर्नुपर्छ । ‘नियमानुसार त्यो जरिवाना जसरी पनि लिनुपर्छ । लिएरै छाड्छौं ।’ निमित्त प्रमुख जिल्ला इन्जिनियर भण्डारीले भने ।
निर्माण कम्पनीका ठेकेदार अच्युत पाण्डेले काम सुरु भएदेखि विभिन्न अवरोध सिर्जना भएकाले केही
समय ढिलाइ भएको बताए । सम्झौतापत्रमै वर्षामा काम गर्न नसकिने उल्लेख गरिएकाले केही समय काम रोकिए पनि सम्पर्कमा नआएको भन्ने निराधार हल्ला भएको दाबी गरे । ‘अहिलेसम्मका काममा सबैभन्दा बढी समस्या त्यहीं आइलाग्यो,’ उनले भने, ‘स्थानीयको अवरोधले पनि केही ढिलाइ भएको हो ।’ नाली खन्ने, ढुंगा पुटाउने, गिट्टी–बालुवा ढुवानीलगायतमा स्थानीयवासीले अवरोध गरेको वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here