New Delhi: President Pranab Mukherjee with Prime Minister of Nepal KP Sharma Oli at Rashtrapati Bhavan in New Delhi on Saturday. PTI Photo by Atul Yadav(PTI2_20_2016_000254B)

२१ साउन काठमाडाैं डा.गोविन्द केसीको अनसन र उनका माग बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. केसीका सबै माग पुरा गर्न नसकिने बताएका छन्।

डा. केसीको ११ औं अनसन आज १२ दिन पुगेपछि प्रधानमन्त्री देउवाले तीन ठूला दलका शीर्ष नेता, संसदको महिला तथा बालबालिका समिति, शिक्षा मन्त्री र सचिव तथा विज्ञहरूको बैठक बोलाएका थिए।

बैठकमा उनले चिकित्सा शिक्षासम्बन्धी विधेयक डा.केसीको माग अनुसार पारित गर्न आग्रह गरेका थिए। तर, संसदमा विचाराधिन विधेयकको धारा १२ र १३लाई संशोधन गरेर पारित गर्नुपर्ने डा.केसीको मागमा एमाले अध्यक्ष ओलीले असहमति जनाए।

धारा १२को (क)मा यो ऐन प्रारम्भ भएको मितिले दश वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न नयाँ आशय पत्र प्रदान गरिनेछैन भन्ने व्यवस्था गरिएको छ।

एमाले नेता तथा पूर्वमन्त्रीहरू राजेन्द्र पाण्डे र वंशीधर मिश्रको नेतृत्वमा काठमाडौंमा सञ्चालित मनमोहन चिकित्साविज्ञान प्रतिष्ठानले मेडिकल कलेज चलाउने आशय पत्र पाएको भए पनि कलेज चलाउने स्वीकृति भने पाएको छैन। यो प्रतिष्ठानलाई मेडिकल कलेज चलाउन दिनुपर्ने माग एमाले नेता तथा सांसदहरूको छ। पाण्डे र मिश्रसँगै दर्जनौं एमाले सांसदहरूको यो प्रतिष्ठानमा लगानी छ।

काठमाडौं उपत्यका भित्र नयाँ मेडिकल कलेज खोल्न पाउनुपर्ने भन्दै दुई दर्जन एमाले सांसदले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

डा.केसी आठौंपटक अनसन बसेका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए। उनकै सरकारले डा.केसीसँग सम्झौता गर्दै मनमोहन चिकित्साविज्ञान प्रतिष्ठान वीर अस्पतालले किन्ने सम्झौता गरेको थियो।

आजको बैठकमा बोल्दै ओलीले धारा १२ र १३मा डा.केसीले भनेजस्तो संशोधन हुन नसक्ने अडान लिए।

बैठकमा उपस्थित एक नेताले ओलीलाई उद्धृत गर्दै सेतोपाटीलाई बताए,’कसैले अनसन बस्दैमा नाजायज माग पुरा गर्न सकिन्न। संसदको सार्वभौम अधिकार कसैले अनसन बसेर खोस्न सक्दैन।’

ती नेताका अनुसार प्रधानमन्त्री देउवाले डा.केसीको माग सम्बोधन गर्न धारा १२ र १३ उनको माग अनुसार संशोधन गर्नुपर्ने आशयको धारणा राखेपछि ओलीले यसको प्रतिवाद गर्दै भने,’म अनसन बसेँ भने तपाईं राजीनामा दिनुहुन्छ?’

एमाले अध्यक्ष ओलीले यो विधेयक आफ्नै पालामा सरकारमा दर्ता गरेको भएपनि त्यतिबेला हतारमा, सम्झौतास्वरूप विधेयक तयार गरिएको बताए। ‘पछि संसदले मिलाउँछ भनेर हामीले विधेयक हतारमा तयार पार्‍यौं,’ ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘अहिले त्यहाँ भएका सबैकुरा मान्नुपर्छ भन्ने छैन।’

मनमोहन चिकित्साविज्ञान प्रतिष्ठान सरकारले किनेर डा.केसीको माग अनुरूप विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री देउवाको प्रस्तावमा ओलीले भने,’कसैको सम्पत्ति जबरजस्ती बेच्न लाउन पाइन्छ, कि  हामी महेन्द्रको पालामा जस्तो राष्ट्रियकरण गर्दै हिड्ने हो?’

ओली सरकारको पालामा कानुनमन्त्रीका रूपमा चिकित्सा शिक्षा विधेयकलाई संसदमा पेश गरेका एमाले नेता अग्नि खरेल पनि आजको बैठकमा उपस्थित थिए।

बैठकमा केपी ओलीले के भन्नुभएको हो भन्ने सेतोपाटीको प्रश्नमा नेता खरेलले भने,’कसले के भन्यो भन्नेतिर नजाऊँ। बैठकको सार भनेको संसदको सार्वभौमिकतामा कसैले हस्तक्षेप मिल्दैन त्यसैले, डा.केसीले अनसन तोडेर संसदीय समितिलाई विश्वास गर्नुपर्छ भन्ने हो।’

सेतोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here