१९ साउन,चितवन  पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक खण्ड भोली बिहानसम्म नखुल्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई पहिरो पन्छाएर गन्तव्य तर्फ लगिएको छ ।
हिजो साँझदेखि विभिन्न ठाउँमा गएको पहिरोले सडकको बीचबीचमा १ सय २५ भन्दा बढी सवारीसाधन अलपत्र परेका थिए ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन् ।
अहिले पनि पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी छ । पहिरो पन्छाउन आधा दर्जन लोडर र एक्साभेटर प्रयोग गरिएको छ । पन्तले पहिरो खस्ने क्रम नरोकिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको बताउदै पुरै पहिरो पन्छाएपछि मात्रै सडक सुचारु हुने जानकारी दिनुभयो । कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सो सडक खण्ड हिजो साँझदेखि अवरुद्ध छ ।
सोही पहिरोमा काठमाडौंबाट इलाम जादै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक बस र बा १५ च ९३८१ नम्बरको स्करपियो पुरिएका थिए । बस त्रिशूली नदीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ ।
चालकको चलाखीका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । सोही सडकखण्डको चेपाङडाँडामा रोकिराखेका दुई वटा ट्रक गएराती माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here