१४ भाद्र काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने पूर्ववत निर्णयलाई सरकारले पुनरावलोकन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगको सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्न लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए। बस्नेतका अनुसार पहिलो चरणको निर्वाचन मंसिर १० गते नै हुने छ भने दोस्रो चरणको निर्वाचन २१ गते हुनेछ। कुन प्रदेशमा पहिलो चरण र कुन प्रदेशमा दोस्रो चरणमा हुने भन्नेबारे सरकारले अझै टुंगो लगाएको छैन।

मन्त्री बस्नेतका अनुसार मतदाताले दुई मतपत्र प्रयोग गर्नेछन्। एउटा मतपत्र प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्न प्रयोग हुने छ भने अर्को मतपत्र समानुपातिक उम्मेदवारका लागि हुनेछ।

मन्त्री बस्नेतले भने, ‘कहाँ–कहाँ कहिले गर्ने भन्ने बारे अहिले छुट्याएर निर्णण गरिएको छैन, निर्वाचन क्षेत्र, सीमा निर्धारण आयोगले प्रतिवेदन बुझाइसकेको अवस्था छैन, तर आयोगले नै दुई चरणमा गर्नुपर्ने कुरा उठाएको हुँदा दोस्रो चरणको निर्वाचन मंसिर २१ गते गर्ने निणर्य गरिएको छ।’

सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी भने राजनीतिक सहमतिका आधारमा छलफल गरेर पछि टुङ्गो लगाउने निर्णय गरेको छ। यस्तै सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ, जुन संवैधानिक परिषद्बबाट सिफारिस गरिनेछ।
एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त रु १५ अर्ब ४८ करोडको बजेट (विशेष गरी प्रसारण र वितरणको क्षेत्रमा खर्च गर्न) ऋण अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

केही प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी खारेज गरी प्रहरी नायब महानिरीक्षकको दरबन्दी सिर्जना गर्नेबारे मन्त्रिपरिषद् बैठकमा छफलल भएको पनि मन्त्री बस्नेतले बताए। बैठकले अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ। मन्त्रिपरिषद्ले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गरेको छ।

सरकारले चार जनाको सचिवको समेत सरुवा गरेको छ। भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा ल्याइएको छ भने भूमिसुधार मन्त्रालयमा शम्भु कोइरालालाई पठाइएको छ। आपूर्ति मन्त्रालयका सचिव प्रेम कुमार राइलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

खानेपानी मन्त्रालयमा कृष्णराज विसी र पर्यटन मन्त्रालयमा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेलाई ल्याइएको छ भने आयोगमा पर्यटनबाट शंकर अधिकारीलाइ लगिएको छ। यस्तै गरीवि निवारण मन्त्रालयमा प्रधानमन्त्री कार्यालका सचिव रेश्मीराज पाण्डेलाई लगिएको छ। अन्नपूर्ण पोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here