१३,भाद्र भुटान र चीनको सीमा क्षेत्र दोक्लममा विश्वका दुई शक्तिशाली देश भारत र चीन विचको विवाद मिल्ने भएको छ ।

दोक्लमबाट भारतीय सेना दुई महिना १० दिनपछि फिर्ता भएको छ । दोक्लममा भारतीय सेनाको उपस्थितिले चीन–भारत सम्बन्ध चिसिएको थियो ।

भारतीय सेना फर्किएको जानकारी भारत र चीन दुवै देशका विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेका छन् । दुवैले आ–आफ्नो ढंगले त्यसलाई व्याख्या गर्दै सेना फिर्ताको सूचना बाहिर ल्याएका हुन् । दुवैको वक्तव्यबाट ‘विन–विन’ ढंगले टकराव व्यवस्थापन गरिएको संकेत मिल्छ । चिनियाँ पक्षले भारतीय सैन्य फिर्तीलाई प्रधान विषय बनाएको छ भने भारतीय पक्षले चीनले त्यस क्षेत्रमा सडक निर्माण कार्य स्थगन गरेको दाबी गरेको छ ।

गत जुन १६ मा भारतीय सेना भुटान र चीनको सीमा दोक्लममा प्रवेश गरेपछि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेना आमने–सामने भएका थिए । दुई देशका सेनाबीच धकेलाधकेल भएका खबर तस्बिरसहित सार्वजनिक भएका थिए । तर दुवै सेनाले संयम अपनाएकाले लामो समयसम्म पनि कुनै अप्रिय द्वन्द्व भएन ।

आफ्नो सैनिक टोलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार सोमबार दिउँसो २:३० बजे भारतीय सेना त्यस क्षेत्रबाट फर्केको हो । लामो बहस र विवादको विषय बनेको दोक्लममा अब द्वन्द्वको त्रास हटेको छ र दुई शक्तिराष्ट्रको चेपुवामा परेको भुटानलाई राहत मिलेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता चीनमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाने भएकाले त्यसअगावै यो समस्या समाधान हुने कूटनीतिक अड्कलबाजीले यतिबेला मेल खाएको छ । आगामी आइतबार र सोमबार चीनको फुजियान प्रान्तमा ब्रिक्स सम्मेलन हुँदैछ । सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीबीच साइडलाइन वार्तासमेत हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई आफूतिर तान्न कूटनीतिक लबिइङ तीव्र पारेका थिए । नेपाललाई समेत आ–आफ्नो पक्षमा ल्याउने उद्देश्यले प्रभावित पार्ने कोसिस भएको थियो । तर नेपालले कुनै पक्ष नलिई दोक्लम प्रकरणमा तटस्थ नीति अवलम्बन गर्‍यो । नेपालले वार्ताबाट शान्तिपूर्ण निकासका लागि निरन्तर आग्रह गरेको थियो ।

चीन र भारत दुवैले दोक्लम विवादमा कूटनीतिक च्यानलबाट लामो छलफलपछि समाधानको नजिक पुगेको जनाएका छन् ।

भारतीय सेना फर्केपछि पनि आफ्नो सेनाले त्यस क्षेत्रमा गस्ती गरिरहने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वुआ छुन यिङले नियमित प्रेस ब्रिफिङमा बताएकी छन् । चीनले भारतलाई छिमेकी मित्रराष्ट्रका रूपमा निकै महत्त्व दिएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘भारत र चीनको सीमा सधैं शान्तिपूर्ण राख्ने र आपसी सम्मानका साथ त्यस क्षेत्रलाई विकासमा बढावा दिँदै अन्तर्राष्ट्रिय मापदण्डका आधारमा समस्याको समाधान गर्दै अघि बढ्नेछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here