१२ भाद्र काठमाडौं : हुण्डी गर्न राखेको १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागले १५ महिनापछि चार अर्ब १२ करोड बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी गरेको छ। बिगोबराबर जरिवानाको माग दाबीसहित यही साताभित्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिने विभागले जनाएको छ। काठमाडौं प्रहरी परिसरले सुन्धाराको जेबो ट्राभल्समा छापा मारेर १२ लाख रुपैयाँ नगदसहित त्यहाँ काम गर्ने दलबहादुर पुन र लवकुमार नेपाललाई विभागमा बुझाएको थियो।

पक्राउ परेका अभियुक्तद्वय धरौटीमा छुटे पनि लामो समयसम्म अनुसन्धान भएको थिएन। पछि विभागले रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएपछि हुन्डी कारोबार गरेको पक्का भएको विभागसम्बद्ध स्रोतले बतायो। यो ट्राभल्सका मालिक र हुन्डी कारोबारी धर्म गुरुङ र मिलन गुरुङ विभागको सम्पर्कमा आएका छैनन्।

पोखरा घर भएका गुरुङद्वय पूर्वब्रिटिस गोर्खा आर्मी हुन्, दुवै ब्रिटेनमै बसोवास गर्छन्। विभागका अनुसार गुरुङद्वय, कामदार पुन र नेपालका साथै नीलिमा थामी राईलाई मुद्दामा अभियुक्त बनाइनेछ। कारोबार गरेको देखिएका राजेन्द्रमान गुरुङ र विद्यादेवी गुरुङ पनि अभियुक्त हुनेछन्। गुरुङ दम्पतीलाई हुन्डीको रकम भुक्तानी गर्न ५० लाख रुपैयाँको चेक काटेको भेटिएको थियो। पोखराका गुरुङ दम्पती पनि अहिले बेलायतमा बसोवास गर्छन्।

कम्प्युटरमा प्रविष्ट गरिएको हुन्डीमार्फत स्थानान्तरण गरिएको रकमका आधारमा बिगो कायम गरिएको हो। कम्प्युटरबाट प्राप्त सूचनाका आधारमा रकम यहाँबाट पठाउने र विदेशबाट ल्याउने काम बराबरजस्तै छ।

राभल्सको कम्प्युटर नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। कम्प्युटरमा प्रविष्ट गरिएको हुन्डीमार्फत स्थानान्तरण गरिएको रकमका आधारमा बिगो कायम गरिएको हो। कम्प्युटरबाट प्राप्त सूचनाका आधारमा रकम यहाँबाट पठाउने र विदेशबाट ल्याउने काम बराबरजस्तै छ। अस्ट्रेलिया, ब्रिटेनलगायत देशबाट रकम आएको र विभिन्न देशमा हुन्डीमार्फत पैसा पठाएको कम्प्युटरमा देखिएको थियो। ‘कम्प्युटरमा तीन महिनाको रेकर्डमात्र भेटिएको हो’, स्रोतले भन्यो, ‘तैपनि यति ठूलो कारोबार भएको फेला पर्‍यो।’

हुन्डी के हो ?

पैसाको स्थानान्तरणलाई हुन्डी भनिन्छ बैंकिङ प्रणालीबाहिरबाट पैसाको स्थानान्तरण अवैध हुन्छ। आफ्नो ठाउँको हुन्डी कारोबारीलाई पठाउनुपर्ने रकम बुझाएपछि उसले जुन ठाउँमा पठाउने हो, त्यहाँको सम्पर्क कारोबारीलाई रकम ग्राहकले भनेको व्यक्तिलाई दिन भनिदिन्छ। काठमाडौंबाट लन्डनमा पैसा पठाउनु छ भने काठमाडौंको कारोबारीकहाँ पैसा बुझाएपछि उसले लन्डनको सम्पर्क व्यक्तिलाई भनिदिन्छ।

पैसा प्राप्त गर्नुपर्ने व्यक्तिले लन्डनको कारोबारीबाट पैसा प्राप्त गर्छ। बैंकिङ प्रणालीभन्दा सस्तो हुने भएकाले पनि हुन्डीप्रति कतिपयको आकर्षण हुन्छ। बैंकिङ सुविधा नजिक नहुँदा पनि कतिपय हुन्डी गर्न बाध्य हुन्छन्। कोरियामा काम गर्ने नेपालीको कमाइको ठूलो हिस्सा हुन्डीमार्फत नेपाल भित्रिने अध्ययनले नै देखाएको छ। बैंकिङ प्रणालीबाट स्थानान्तरण गर्दा रेकर्ड हुने भएकाले अवैध आर्जन स्थानान्तरणको माध्यम हुन्डी हो।

घुस खाएको रकम स्थानान्तरण गर्नुपरे हुन्डीकै सहारा लिन्छन्। बैंकिङ प्रणालीमार्फत स्थानान्तरण गर्न मिल्दैन भने हुन्डी नै विकल्प हुन्छ। नेपालबाट विदेशमा लगानी गर्न पैसा लैजान मिल्दैन, विकल्प हुन्डी नै हो। अमेरिकामा सम्पत्ति किन्न नेपालबाट पैसा लैजाने माध्यम पनि हुन्डी नै हो। डीभी परेर अमेरिका बसाइँ सर्ने नेपालीले यताको सम्पत्ति लैजानुपरे हुन्डी प्रयोग गर्छन्।

ठूलो परिमाणमा हुन्डीचाहिँ न्यून बीजकीकरणका लागि हुन्छ। आयातकर्ताले न्यून बीजकीकरण गरी सामान भित्र्याउनु छ भने भन्सारमा जति घोषणा गर्ने योजना बनाएको हुन्छ, त्यति रकममात्र बैंकिङ प्रणालीमार्फत पठाउँछ। बाँकी भुक्तानीचाहिँ हुन्डीमार्फत गर्छ। आयातमा न्यून बीजकीकरणको आकार ठूलो भएकाले हुन्डीको कारोबार पनि त्यसैअनुरूप हुन्छ। सुनको अवैध आयातको भुक्तानी पनि हुन्डीबाटै हुन्छ।

विदेशको भुक्तानी विदेशी विनिमयमै गर्नुपर्ने भएकाले विदेशबाट यहाँ पठाउन ग्राहकले दिएको विदेशी विनिमय हुन्डी कारोबारीले प्रयोग गर्छन्। अस्ट्रेलियाबाट कसैले नेपालमा पैसा पठाउनुपरे अस्ट्रेलियामा उसले त्यहीँको विनिमय हुन्डी कारोबारीलाई बुझाएको हुन्छ। तर नेपालमा पैसा बुझ्नेले रुपैयाँमै विदेशी विनिमयबराबरको रकम पाउँछन्। अस्ट्रेलियामा बुझेको विदेशी विनिमय हुन्डी कारोबारीले विभिन्न ठाउँमा भुक्तानीका लागि प्रयोग गर्छन्। ‘हुन्डीको कारोबार फस्टाउँदा विदेशी विनिमय सञ्चितिमा पनि प्रभावित हुन्छ’, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरि अधिकारीले भने। अन्नपूर्ण पोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here