काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको पाँच दिने औपचारिक भ्रमण पुरा गरि आइतबार साँझ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको टोलीबीच बिहीबार भएको औपचारिक भेटवार्तापछि नेपाली र भारती पक्षबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रको आठवटामा चारवटा भूकम्पपछिको पुनर्निर्माणको बारेमा रहेको छ ।

भूकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

त्यसैगरी अन्य चारवटामा मेची नदीमा पुल निर्माण, चार्टर्ड एकाउन्टेन्टहरु सम्बन्धी संवस्थाहरुको समन्वय, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।

यस्तै देउवाले त्यहाँ रहँदा राष्ट्रपति रामनाथ कोविन्द लगायत शीर्ष नेताहरुसँग भेट गरेका थिए । उनले तिरुपति र बोधगयाको अवलोकन भ्रमण समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here