काठमाडौं– पहिलो र दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले तेस्रो चरणको निर्वाचनमा भाग लिने भएको छ ।

संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदबाट असफल भएपछि राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा जाने निश्कर्षमा पुगेको हो । निर्वाचनको अन्तिम निर्णय भने अध्यक्ष मण्डललाई दिइएको छ ।  पार्टी पदाधिकारीको बुधबार सम्पन्न बैठकले निर्वाचनमा जाने कि नजाने भन्ने ठोस निर्णय लिने अधिकार पार्टी अध्यक्ष मण्डललाई दिएको राजपा नेता केशव झाले बताए ।

अध्यक्ष मण्डललाई पार्टीको चुनाव चिन्ह, प्रदेश नम्बर २ को निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि र घोषणा पत्र तयारी समिति बनाउने जिम्मेवारी पनि दिइएको पार्टीका झाले बताए । दुई दिनसम्म बसेको पार्टीको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले संविधान संशोधन प्रस्ताव फेल हुनुको कारण जनतालाई बुझाउन पनि निर्वाचनमा जानैपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय जनता पार्टीका नेताहरुले एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको सन्देश लिएर जनतामा जान पनि निर्वाचनमा भाग लिन उपयुक्त हुने धारणा राख्दै आएका छन । निर्वाचनबारे अन्तिम निर्णय गर्न विहिबार नै राजपाको अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ । विहीबार बस्ने अध्यक्ष मण्डलको बैठकले निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने पनि नेता झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here