३२ साउन काठमाडाैं सरकारले संविधान संशोधन विधेयकलाई ब्यवस्थापिका संसदमा प्रक्रियामा लगेको छ । ब्यवस्थापिका संसदको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेपछि विधेयक प्रक्रियामा अघि बढेको हो ।
छलफलमा एमाले सांसद रेवतीरमण भण्डारीले धारणा राखेपछि बैठक आगामी भदौ चार गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालसँगको सहमतिअनुसार सरकारले विधेयक प्रक्रियामा लगेको हो । राजपाले विधेयक पास वा फेल जे भएपनि मान्य हुने बताउदै निर्वाचनमा सहभागि हुने प्रतिबद्धता सत्तारुढ दलसँग गरेपछि एमाले सहित प्रतिपक्षी गठबन्धनको सहमति बिना नै सरकारले विधेयक निर्णयार्थ प्रक्रियामा लगेको हो ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच आज साँझ भएको बैठकमा ढिलोमा आगामी भदौ ५ गते भित्र विधेयक टुंगो लगाउने सहमति भएको थियो । विधेयकमाथि दलहरुबीच थप छलफल आवश्यक रहेकाले आजै निर्णयार्थ प्रस्तुत नगर्ने सत्तारुढ दलको निश्कर्षकाबीच सभामुख ओनसरी घर्तीले कार्यसूचीको ७ र ८ नम्बरको बिषय भने हटाउनुभएको थियो । कार्यसूचीमा विधेयकमाथि प्राप्त संशोधन प्रस्ताव र विधेयक पारित गरियोस भन्ने बिषय समेत समावेश गरिएको थियो । विधेयकमाथि परेका संशोधनमाथिको छलफल र सहमतिका लागि विशेष समिति वनाउने विकल्प छोडेर सरकारले सदनमै दफावार छलफल सुरु गराएको हो ।
वैवाहिक अंगीकृत नागरिकता, भाषा, राष्ट्रियसभाको प्रतिनिधित्व र निर्वाचक मण्डल, प्रादेशिक सिमा आयोगलगायतका विषय समेटिकएको संशोधन विधेयकमाथि सत्तापक्षको समेत ५० वटा संसोधन परेका छन् । ती मध्ये अधिकांश संशोधन प्रस्ताव एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनका छन् ।
हाल कायम ५ सय ९२ सदस्यमध्ये संशोधन विधेयक पारितका लागि दुईतिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्छ । संसदको चौथो दल राप्रपाका सांसदहरु औपचारिकरुपमै विभाजित भएको र प्रतिपक्षी गठबन्धन समेत बिपक्षमा रहेकाले विधेयकको पक्षमा दुई तिहाई पुग्ने सम्भावना भने निकै कम छ । सरकारले गत बर्षको चैत्र २९ गते संसद सचिवालयमा सो विधेयक दर्ता गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here