१५ साउन काठमाडौँ ।

दलका शीर्षनेताले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले आइतबार प्रमुख दलसँग गरेको छलफलमा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ सय ४० निर्वाचन क्षेत्र निर्धारण गर्दा जुन सिद्धान्तलाई आधार बनाइएको हो, १६५ निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि सोही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताए ।

“यसरी क्षेत्र निर्धारण गर्दा तराई केन्द्रित दललाई पनि स्वीकार्य हुन्छ, आजको छलफलमा पनि राष्ट्रिय जनता पार्टीका नेताले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दाका सिद्धान्त मान्य हुने बताउनुभएको छ”, उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री एवम् एमाले नेता झलनाथ खनालले संसारभर निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई आधार मानिएकाले नेपालमा पनि यही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता डा.रामशरण महतले जनसङ्ख्यालाई पहिलो र भूगोललाई दोस्रो प्राथमिकतामा राखिनुपर्ने संविधानमै उल्लेख भएको बताए ।  “२४० निर्वाचन क्षेत्रलाई १६५ मा ल्याउनुपर्ने भएकाले त्यही अनुपातमा जनसङ्ख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण गरिनुपर्छ”, उनले भने ।

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष राजेन्द्र महतोले मुख्य रुपमा जनसङ्ख्यालाई आधार बनाउनुपर्ने संवैधानिक व्यवस्थालाई आधार बनाइनुपर्ने बताउनुभयो ।

“यसअघि २४० निर्वाचन क्षेत्रमा मधेशले ११६ क्षेत्र पाएको थियो, अब विसं २०६८ को जनसङ्ख्यालाई पनि आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने सुझाव मैले दिएको छँु, उनले भने ।

लोकतन्त्रमा सबैको संवाहक राजनीतिक दल भएकाले सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ । छलफलमा काँग्रेस, एमाले, माओवादी केन्द्र, तराई केन्द्रित दल, नेपाल मजदुर किसान पार्टीलगायत दललाई सहभागी गराइएको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए ।

दलका नेतासँग छलफल गरेपछि आयोगका अध्यक्ष कमलनारायण दास तथा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अहिलेसम्म भएका प्रगतिका विषयमा जानकारी दिए ।

अायोगका पदाधिकारीसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आयोगलाई आवश्यक पर्ने स्रोतसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको प्रवक्ता कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here