श्रावण १२, कास्की मादी गाउँपालिका ८ मुंग्रेबेंसी र लमजुङको मध्यनेपाल नगरपालिका ८, मजुवाबेंसी जोड्ने रुदी दोभानको अस्थायी पुल भाँचिएर यात्रुबस खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजनालाई खोलाले बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पोखराबाट कास्कीको मुंग्रेबेंसी हुँदै लमजुङ र कास्कीको सीमाक्षेत्र बालुवाबेंसी जाँदै गरेको ना५ख ६३९५ नम्बरको यात्रुबहावक बस दिउँसो एक बजेतिर पुलबाट खसेर दुर्घटनामा परेको हो । अस्थायी ट्रष्ट पूलको जग भाँसिनुका साथै पुल भाँचिएको छ ।
खोलामा खसेको बसले च्यापिएर लमजुङको क्व्होलासोंथर गाउँपालिका ७ का ५० बर्षीय खिमप्रसाद गुरुङ र बारा जिल्ला फेटा गाउँपालिका ६ का अन्दाजी २० बर्षीय विनोद मण्डलको मृत्यु भएको डीएसपी समीरचन्द्र खरेलले बताउनुभयो । उहाँका अनुसार बसले च्यापिएर मृत्यु भएका गुरुङको प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो भने मण्डलको शव क्रेनको सहयोगले बसलाई तानेर निकालिएको हो ।
गुरुङको शव ३ घण्टापछि र मण्डलको शव साडे ६ बजे निकालिएको हो । खोलाले बगाएका एकजनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा ३२ जना घाइते भएका छन् । यीमध्ये १० जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
एकजनाको अवस्था चिन्ताजनक छ । घाइतेमध्ये २४ जनाको पोखरास्थित बिभिन्न अस्पताल र अन्यको मध्यनेपालको रामबजारस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । सो पुल रुदी खोलामा निर्माण हुँदै गरेको रुदीखोला ‘ए’ र ‘बी’ जलविद्युत आयोजनाले आफ्नो सामग्री ल्याउन र स्थानीयका लागि निर्माण गरेको ट्रष्ट ब्रिज हो । आज पुलको जग भाँसिदै ट्रष्ट ब्रिज नै भाँचिएर बस खोलामा पुगेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here