९ साउन,काठमाडौं – भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले आज पनि अनपेक्षित कदम चाल्दै पूरानै नियति दोहोर्यायो र सुनुवाई साउन १२ गतेलाई सरेको छ । हिजोदेखि बहस भएपनि आजपनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखेर १२ गतेलाई सारिएको हो ।
रिट निवेदकका पक्षमा १५ जना वकिलले बहस गरेपछि आज सरकारका तर्फबाट महान्याधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका थिए।

उनको बहस नसकिँदै समय सकिएपछि सुनुवाइ १२ गतेका लागि सारिएको हो। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। विवादपछि मतगणना स्थगित भयो।

निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो। आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए।

भरतपुरमा सुरूदेखि नै निर्वाचन आयोग सत्ताको प्रभावमा परी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागिपरेको रिटमा उल्लेख छ। यसले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने र सत्ताको दबाबमा पर्ने भएकाले विपक्षी दलका उम्मेदवारको सुरक्षा नहुने रिटमा दाबी गरिएको छ।

हिजोदेखि शुरु भएको बहबाट आज अन्तिम फैसला आउने अनुमान गरिएको थियो । तर सरकारी वकिलले अध्ययनका लागि थप समय मागेपछि बहस फेरी पछि सरेको सर्वोच्चले जनाएको छ ।
भरतपुर १९ को विवादको पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको छ । आजसम्ममा ६ पटक सुनुवाइ तोकिएपनि अन्तिम फैसला हुन सकेको छैन ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकोमा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here