धादिङ: पृथ्वीराजमार्ग अन्तरगत धादिङको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपलिका वडा नं ५ स्थित विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य १० जना घाइते भएका छन्।

काठमाण्डौबाट काँकडभित्तातर्फ जाँदै गरेको ना ६ ख २२९३ नम्वरको बस विशालटारको घुम्तीमा दुर्घटना हुँदा बसका चालक र सहचालकको घटनास्थलमा नै मृत्य भएको हो। उक्त दुर्घटनामा अन्य १० भन्दा बढी यात्रुहरु घाइते भएका छन।

घाइतेहरुलाइ उपचारको लागि राजमार्गका अस्पतालहरुमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ पठाइएको चौकी बेनिघाटले जानकारी दिएको छ। बस तीव्र गतीमा रहेको र दुर्घटना स्थलमा घुम्ती पनि रहेकाले बस विपरीत दिशाको सवारी साधन आउने सडकलेन पार गर्दै खसेर दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख कृष्णराज सापकोटाले बताउनुभयो।

उक्त मोडमा पटक-पटक सवारी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा बसका चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कलम ढुङगाना र सोही गाउँका सहचालक नवराज शिवाकोटी रहेको प्रहरी जनाएको छ।

दुर्घटना स्थलको घुम्ती बढी साँघुरो भएकाले पटक पटक दुर्घटना भइरहदा पनि सडक विभागले घुम्ती फराकिलो बनाउने काम नगरेको स्थानियबासीहरुले बताए। एक स्थानियले भने, ‘यो घुम्तीमा मात्रै दुर्घटनामा परेर अहिलेसम्म ६० जनाको ज्यान गइसकेको छ।हामीले प्रहरी देखी सडक विभागसम्म यो घुम्ती फराकिलो बनाउन भनेर ध्यानाकर्षण गराएका छौ तर कहिले पनि सुनुवाइ भएको छैन।’

त्यस्तै पृथ्वी राजमार्ग कै गजुरी गाउँपालिका स्थित गलौदीमा स्कार्पियो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। चितवनबाट काठमाडौँ जाँदै गरेको बा १५ च ४५२६ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई सडकमा नै पल्टिएको हो।

गाडीमा कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा, उनका श्रीमती र छोरा सवार थिए। दुर्घटनामा हरि की श्रीमती विष्णुकुमारी शर्माको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक बरुण सिंहले जानकारी दिनुभयो। घटनामा हरि, उनका छोरा शशांङक शर्मा र चालक घाईते छन्। घाईतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here