नेपाली राजनीतिमा लागेका अविवाहित नेताहरुको बेलाबखतमा चर्चा हुने गर्छ ‘उनीहरुले समय नपाएर विवाह गरेनन् कि योग्य वर,बधु नपाएका कारण अविवाहित रहे। ‘ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, नेताहरु पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे लगायत अविवाहित नेताहरुको सूची बनाउने हो भने त्यो लामै बन्न सक्छ । राजनीतिमा लाग्दै गर्दा छुटेको एउटा सामाजिक पाटो (विवाह) का बारेमा  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसँग कुराकानी गर्नु भएको छ । 

विवाहका लागि आएको उपयुक्त उमेरलाई तपाईले उपयोग गर्न सक्नु भएन नि ? 

धेरै साथीहरुले मिडियाबाट विवाह किन गरिनस् भनेर सोध्छन् । मैले गरेँ कि गरिन त्यो एउटा प्रश्न भयो । विवाह भन्ने कुरा चाही प्राकृतिक कुरा हो । म त धेरै साथीभाईको विवाह गराउँदै हिडेको मान्छे हुँ । म एउटा ठूलो दुर्घटनामा परेँ । त्यसबाट निस्कन मलाई झन्डै ६ महिना जति लाग्यो । मलाई यस्तो ढङ्गले साथीभाईले सेवा गर्नुभयो भनु न । ८६ दिन त मलाई अरुले दिसापिसाव गराएर उठाउनु भएको हो । वास्तमा एउटा सामूहिक घर छ अनि आमाहरु ह्ुनुहुन्छ, त्यसभित्र बच्चाहरुको हेरविचार गर्नुहुन्छ । मैले एक दमै राम्रो पारिवारिक स्नेह प्राप्त गरेको छु । सेवा प्राप्त गरेको छु । थुप्रै खालका समस्या हुँदाहुँदै, शारीरिक समस्या भए पनि अपनत्वपूर्ण वातावरण प्राप्त गरेको छु ।

त्यो ८६ दिन अस्पतालमा बस्नुपर्ने कारण के थियो, भन्न हुन्छ ? 

तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरिसकेपछि लाहानमा एउटा कार्यक्रम गर्न लागेका थियौँ । प्राध्यापक कृष्ण खनाललाई त्यहाँबाट लैजानुपर्ने भयो अनि जनकपुरको एउटा टिकट मिलायौँ हामीले । अनि भोलिपल्ट विहान मकालुको बसबाट म लहानतिर जाने टिकट थिया,े प्राध्यापक कृष्ण खनाललाई जहाजको टिकट लिइयो । त्यो टिकट म हाम्रो कमरेड लीलामणि पोखरेलको घरमा पुर्याउन भनेर बेलुका करिब ८ बजेतिर निस्केँ । त्यही बेला एउटा माइक्रो बसले मलाई हान्यो । एक जना बद्रि चौलागाई भन्ने साथीले मलाई बचाउनुभयो । हस्पिटलमा होसमा आउँदा म कराइराखेको थिएँ ।

दुर्घटनापछिको उपचार प्रक्रिया कसरी अघि बढाउनुभयो ? 

मेरो २६ ठाउँमा चोटपटक लागेको, भाँच्चेको थियो । एक प्रकारले म पुनर्जीवित मान्छे हुँ । अनि ८६ दिन म अस्पतालमा बस्नुपर्नेभयो । खुट्टामा जहाँ भाँच्चिएको थियो त्यहाँ हड्डीको टुक्रा देखियो । ७२ दिनबाट निस्कनुपर्यो  भनेर निस्केको एकदम दुख्यो । केएमसी पछि मैले डा बाबुकाजी श्रेष्ठसँग उपचार गराइरहेको थिएँ । उहाँले मलाई अपरेशन थियटरमा लगेर हेर्दाखेरी शिशाको टुक्राको रहेछ । त्यसले पनि असर गरेको रहेछ । पिसाव गर्ने साइटपट्टिको भागमा दुई ठाउँमा भाँच्एिको थियो मेरो । अस्पतालबाट निस्केर बैशाखी लगाएर म ६२÷६३ को आन्दोलनमा हिडेँ । मैले मन्त्री छोडेपछि आफ्ना पुराना रोगहरुको उपचार गर्दै फेरि फिल्डमा जाने गरेको छु । त्यो बेलाका अधुरा खालका उपचार अहिले पनि गर्नुपरेको छ ।

दुर्घटनापछि राम्रो स्याहार पाएर घरजम गर्ने कुराको मायामोह रहेन वा ठूलो दुर्घटनाबाट पुनर्जीवन पाइसकेपछि बाँकी समय विवाहवारी भन्दा पनि अरु केही योगदान दिन्छु भन्ने ठान्नुभयो ? 

विवाह गर्ने एउटा उमेर हुन्छ । मलाई लाग्छ त्यो उमेरमा सबैका बिभिन्न प्रकारका आकांक्षा हुन्छन् । युवाको विशेषता, शिक्षा, रोजगारी र विवाह विश्वभरीका सार्वभौमिक पक्ष हुन् ।  हामी क्रान्तिकारी आन्दोलनमा लागिउँ, परिवर्तनको आन्दोलनमा लागिउँ अनि जतिखेर विवाहलाई प्राथमिकता दिनुपथ्र्यो त्यो बेला दिइएन । प्राथमिकता दिइएको बेलामा कतिपय कुराहरु मिलेनन् अनि विवाह मूल प्राथमिकता हुँदा एक खालको हुँदो रहेछ । सामाजिक परिवर्तनलाई मुल प्राथमिकता र त्यसको अधिनस्त राखियो । मैले सबैलाई के भन्न चाहान्छु भने समयमा विवाह गर्नुपर्छ र प्रेममा आधारित विवाह गर्नुपर्छ । धेरै बच्चाहरु जन्माउनु हुँदैन, राष्ट्रको लागि सोच्नुपर्छ भन्ने मेरो मान्यता छ ।

अहिले तपाई कति वर्षको हुनुभयो । 

म ५८ पुगेँ ।

अव विवाह भन्ने कुरा तपाईको जीवनमा हुँदैन कि फेरि पुनर्विचार हुन सक्छ ? 

मैले के भन्न चाहान्छु भने यस्तो खालको प्रश्न म सार्वजनिक महत्वको ठान्दिन । तर पनि मान्छे परिवर्तनशिल छ, समाज परिवर्तनशिल छ त्यसैले यो ढङ्गले बोल्नु नै उपयुक्त विषयवस्तु होइन । मेरो प्राथमिकतामा परेन, मेरा केही मान्यताहरु छन् । सामाजिक परिवर्तनमा म एक ढङ्गले हिडेको छु । यही कुरा नै म राख्न चाहान्छु ।

अहिले माओवादी केन्द कै कतिपय नेताहरुले गिरिराजमणिको विवाह गर्दिनुपर्छ भनेर ठाउँठाउँमा कुरा गर्दै हिडेको सुनिन्छ । चिन्ताचासो त तपाई कै पार्टीमा छ नि ? 

त्यसरी सोच्ने सबै साथीहरुलाई धन्यवाद दिन चाहान्छु । मेरो बा वित्नु भएको एक वर्ष भयो ।अस्ति भर्खर म वार्षिकीमा गएर आएँ । उहाँ रहुन्जेलसम्म कसै न कसैलाई कुरा गराइराख्नुहुन्थ्यो उहाँले ।

तपाईको बुवा बुहारी होस् भन्ने चाहानुहुन्थ्यो ? 

त्यो त स्वभाविक ढङ्गले सबै बाआमाको चाहाना हुन्छ । मेरो दिदी, दाजुहरु हुनुहुन्छ उहाँहरुको पनि त्यस्तो चाहाना हुन्छ ।

बुहारी भित्र्याउने चाहाना पूरा नगरी बुवा बिदा हुनुभयो । तपाईलाई बुवाको अधुरो चाहानाले कतै कोतरीरहेजस्तो लाग्दैन ? 

यो विषयवस्तु कस्तो हो भन्दाखेरी, जुन बेलामा म मास्टर्स डिग्री गरिराखेको थिएँ । त्यतिखेर नै मेरो अगाडिपट्टी पविारलाई हेर्ने कि देशलाई,समाजलाई, आफ्नो बिचारलाई हेर्ने भन्ने भयो । मेरो फूपु अहिले त हुनुहुन वित्नुभयो । उहाँले बोलाएर कुराकानी गर्नु भएको थियो । मेरो आमाको निधन भइसकेपछि । बाले अर्को विवाह गरिसक्नु भएको थिएन, पछि विवाह गर्नुभयो । बोलाएर फूपुले सोध्नु भएको थियो ।

मैले के भने भने विहे नै गरेँ भने पनि त घरको कुरालाई ध्यान दिन सक्दैन म, आफ्नो आवश्यकताका आधारमा हिड्छु । त्यसकारणले यो सामाजिक परिवर्तनको प्रक्रियामा हिड्दाखेरी आफ्नो छोराको हितका लागि उसले विवाह गरोस् भनेर सबै आमाबाबाहरुले सोच्नुहुन्छ । त्यसैगरी मेरो बा र आफन्तले पनि त्यसैगरी सोच्नु भएको हो । त्यो सकारात्मक कुरा पनि हो । आफूले निर्णय गर्ने ठाउँमा पुगिसकेपछि आफ्नो लागि के गर्दा बढी राम्रो हुन्छ भन्ने ढङ्गले सोचिदो रहेछ । एक ढङ्गले एउटा यस्तो समय थियो कि जुन पार्टीमा हामीले काम गरिउँ त्यहाँ अविवाहितहरुको पोलिटव्यूरो थियो ।

कति जनाको थियो अविवाहितहरुको पोलिटव्यूरो ? 

सोनाम साथी, प्रकाश जी, नरबहादुर दाई हुनुहुन्थ्यो । भारतको कुन्नि कुन एउटा कम्युनिष्ट पार्टीजस्तै भयो पनि भन्थे ।

सोनाम साथीले त पछि विवाह गर्नुभयो नि ? 

सबैका आआफ्ना भिन्नभिन्न परिवेशहरु हुन्छन् । बाबाआमाका कतिपय इच्छाहरु पूरा गर्न सकिएन ।

बाबाआमाका इच्छा पूरा गर्न नपाएकोमा पीडा महसुस हुन्छ अहिले ? 

स्वभाविक ढङ्गले हुन्छ तर मैले सामाजिक परिवर्तनको आन्दोलनमा काम गरेर नै मेरा बाआमाको सपनाहरु, इच्छाहरुलाई पूरा गरेको छु भनेर मैले आफूलाई चित्त बुझाउँछु ।

तपाईले सार्वजनिक महत्वको विषय होइन भन्नु भए पनि बेलामौकाले तपाईको एक्लो जिन्दगीको बारेमा पनि कुराकानी हुने भएर मैले सोध्नुपर्यो, समयको लागि धन्यवाद छ ? 

पत्रकार साथीहरुले यो विषय बढी नै उठाउनुहुन्छ । तपाईहरुको प्रश्न आइराख्दाखेरी मलाई निरास बनाउन मन लाग्दैन, मैले त उत्तर दिने न हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here